सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कारका घटना बढे, हाडनाताबाटै असुरक्षा

२०७८ चैत्र ५, ०७:२७ विन्दु चन्द

धनगढी : गत फागुन २६ गते कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ की २ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार भयो। ज्यालादारी गर्ने बुवा काममा निस्केको र आमा कोठामा खाना पकाइरहेको मौका छोपेर ५६ वर्षीय पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरे।

बालिकालाई ललाइफकाई ती व्यक्तिले यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले बताए। उनले भने, ‘बुवा ज्यालादारीमा काम गर्न गएका थिए। आमा खाना पकाइरहेकी थिइन्। सोही मौका छोपेर नजिकैको चिनजानकै व्यक्तिबाट बालिका हिंसामा परिन्।’ कैलालीमा यस्ता घटनाको बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ। ९० प्रतिशत यौन हिंसाका घटनामा आफन्त, नातेदार र परिवारकै सदस्य संलग्न हुने गरेको बताइएको छ।

हाडनाताबाटै बालिका र महिलामाथि यौन शोषण बढेपछि सामाजिक रुपमा बदनाम हुने भन्दै लुकाउने गरिएको शिविन नेपाल धनगढीका प्रमुख हरिलाल चौधरीले बताए। ‘हाम्रो तथ्याकंअनुसार ९० प्रतिशत बालिका आफन्तबाटै असुरक्षीत छन्,' उनले भने, 'आफ्नैबाट बलात्कार बढ्दो क्रममा छ। बलात्कारका घटना हुन नदिन सरकारी र गैरसरकारी निकायबाट प्रयास भए पनि रोक्न सकिएको छैन। न्यायका लागि सम्बन्धित निकायमा जाँदा पनि कतिपयले न्याय नै नपाउने गरेको गुनासो गरिएको छ।'

दोषीले उन्मुक्ति पाउँदा पीडितले थप पीडा पाउने गरेको अधिकारकर्मी सावित्रा घिमिरेले बताइन्। उनले भनिन्, ‘यौन हिँसा समुदायमा एकदमै बढेको छ। बालिका र महिलाहरुलाई बस्तु भाउको रुपमा हेरिन्छ।’ जिल्ला प्रहरी कार्यालयको ३ वर्षको तथ्याकंअनुसार २६४ बलात्कारका मुद्दा दर्ता भएका छन्।

२०७६/०७७ मा ९२, ०७७/७८ मा ९९ र चालू आर्थिक वर्षको ७ महिनामा मात्रै ७३ वटा बलात्कारका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले बताए। उनका अनुसार ३ वर्षमा १३ वर्षमुनिका मात्रै १६ जना बालिकामाथि यौन दुराचार भएको भन्दै मुद्दा दर्ता भएका छन्। उनले भने, ‘पछिल्लो समय बाल यौन दुराचार सम्बन्धि मुद्दा दर्ता भइरहेको छ। १० देखि १३ वर्षका बालिकामाथि पनि यौन दुर्ववहार गरेको पाइन्छ।'

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस