सुदूर नेपाललाई विश्वसँग जोड्दै

करणी प्रमाणित भए पल शाहलाई हुनसक्छ १४ वर्षसम्म जेल

२०७८ चैत्र ४, ०३:५२ खबर संवाददाता

काठमाडौँः नाबालिग गायिकालाई करणी गरेको अभियोग अदालतबाट पुष्टि भएका खण्डमा अभिनेता पल शाहलाई १४ वर्षसम्म जेल सजाय हुने सम्भावना छ। हाल तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्त पल शाहविरुद्ध तनहुँपछि नवलपुर जिल्ला अदालतमा पनि उनै नाबालिग गायिकालाई बलात्कार अभियोगमा मुद्दा दर्ता गरिएको छ। 

नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयले अभियुक्त शाहविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको हो। पीडित भनिएकी नाबालिग गायिकाको जन्मदर्ताअनुसार नवलपुरमा जबर्जस्ती करणी गरिएको भनिएका बेला उनी १६ वर्षभन्दा कम अर्थात् २०६२ साउन ३ गतेको जन्मले १५ वर्ष ८ महिना ४ दिनको मात्रै देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २१९ को उपदफा ३ (ग) मा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा तल उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि बलात्कार ठहरिने र दोषीलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही कारण पल शाहले ती गायिकालाई जबर्जस्ती वा सहमतिमै करणी गरेको ठहर भए उनी १२ वर्षदेखि १४ वर्षसम्म जेल जाने सम्भावना छ। करणी नगरेको प्रमाणित भए मात्र उनी उम्किने सम्भावना देखिन्छ। 

कमेन्ट लोड गर्नुस