सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शनिबारदेखि उपमेयर कप क्रिकेट हुने

२०७८ चैत्र ४, ११:१० खबर संवाददाता

धनगढी : बैतडीमा शनिबारदेखि उपमेयर कप क्रिकेट हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिकामा भोलिदेखि उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण सुरु हुने भएको हो।

प्रतियोगिता निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने बताइएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ७ टोली सहभागी हुने र ती टोलीलाई दुई समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए।

खेल तालिकाअनुसार समूह 'ए' मा वडा नम्बर ६,९, ५ र समूह 'बी' मा वडा नम्बर २, ८, ४ र ११ रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा चैत ५ गते वडा नम्बर ६ र ९ खेल्नेछन् भने चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ। प्रतियोगितामा उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। 


 

कमेन्ट लोड गर्नुस