सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको स्वकीय सचिवालयका चालकले कर्मचारीलाई थर्काउदै भने, तलाई बताउँछु पख (अडियो सहित)

२०७५ माघ १३, ०४:५३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको स्वकीय सचिवालयका एक जना सवारी चालकले कर्मचारीलाई धम्क्याएका छन्। मुख्यमन्त्रीको स्वकीय सचिवालयका सवारी चालक किसन ओडले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत हरिदत्त भट्टलाई आफूले माग गरेको ईन्धन नदिएको भन्दै थर्काएका हुन्।

सवारी चालक ओडले कैलालीको  घोडाघोडीमा सोमबारदेखि सुरु हुने महोत्सवमा जान माग गरेको ६० लिटर ईन्धनका लागि तोक नलगाई दिएको भन्दै शाखा अधिकृत भट्टलाई तलाई बताउँछु भन्दै थर्काएका हुन।

उनले शाखा अधिकृत भट्टलाई, ‘यहाँ सबैलाई हेरिराखेको छु, तपाईले मात्र निहुँ खोज्नुहुन्छ सधै, आफ्नो बाईकमा २०/२०, २५/२५ लिटर हाल्नुहुन्छ सधै, बताउने हुँ तलाई बताउने पख’ भन्दै थर्काएका हुन्। उनले मुख्यमन्त्रीले भनेपछि तपाई नदिने भन्दै कर्मचारीलाई थर्काएको अडियो क्लीप दिनेश खबरसँग रहेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका स्रोतका अनुसार सवारी चालक ओड ईन्धनका लागि सुरुमा प्रमुख सचिव नारायण प्रसाद विडारीको कार्यकक्षमा पुगेका थिए। तर प्रमुख सचिव विडारीले उनलाई प्रशासन फाँटमा पठाएका थिए।

कार्यालयका शखा अधिकृत भट्टले कानुनमा स्वकीय सचिवालयका कर्मचारीलाई ईन्धनको सुविधा नभएको भन्दै ओडले माग गरेको इन्धन दिन अस्वीकार गरेका हुन्। सोही कारण भट्टलाई सवारी चालकले थर्काएका हुन्।किसन ओड मुख्यमन्त्री त्रिलोचन भट्टको स्वीय सचिवालयमा रहेको बा २ म २३५४ नम्बरको गाडीका सवारी चालक हुन्। उक्त गाडी मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिह ओलीले प्रयोग गर्दै आएको बताईएको छ। 

सुन्नुस अडियो 

कानुन अनुसार स्वकीय सचिवालयका कुनै पनि कर्मचारीलाई इन्धन, दैनिक भ्रमण भत्ता तथा हवाई भाडाको सुविधा नभएपनि उनीहरुले शक्तिको आँडमा कर्मचारीलाई थर्काउदै लिने गरेका छन्। मुख्यमन्त्रीका स्वकीय सचिवालयका कर्मचारीको दादागिरीका कारण मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कर्मचारी चेपुवामा परेको गुनासो गरिएको छ।

प्रमुख  सचिव नारायण प्रसाद विडारी भने अवैधानिक रुपमा राज्य कोषको  दोहन गराउन सहयोगी भुमिका खेल्दै आएका छन्। उनले स्वीय सचिवालयका कर्मचारीले कानुनमा व्यवस्था नै नभएको सुविधा माग गर्दा आफु स्वीकृत नगरी अन्य कर्मचारीलाई त्यो काम गर्नका लागि दवाव समेत दिने गरेको स्रोतको दावी छ। 
 

कमेन्ट लोड गर्नुस