सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

२०७८ चैत्र २, ०७:४२ रासस

काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ। युनाइटेड अरब इमिरेट्स ९युएइ० को सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए। 

त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८÷८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए। बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान २÷२ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो। उसका लागि चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले। यस्तै टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए। 

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए। नेपालले दोस्रो खेल शुक्रबार युएइसँग खेल्नेछ। लिग दुईमा नेपालसहित सात देश सहभागी छन्। नेपाल नौ खेलमा पाँचमा जित तथा चारमा हारका साथ १० अङ्कसहित छैटौँ स्थानमा छ। पपुवा न्युगिनी हालसम्म जितविहीन अवस्थामा छ। उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय व्यहोरेको छ।  

कमेन्ट लोड गर्नुस