सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा ‘मेडियन’ भत्काएर जथाभावी क्रसिङ

२०७८ चैत्र २, ०२:२२ विन्दु चन्द

धनगढीः  कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा मेडियन ब्रेक भत्काएर क्रसिङ बनाउँदा दुर्घटनाको जोखिम बढेको छ। लेन अनुशासनका लागि सडकको बीचमा निर्माण गरिएको मेडियन व्यापारीको दबाबमा योजना कार्यालयले भत्काएको छ। सडकको मेडियन ब्रेक नै भत्काएर क्रसिङ बनाइएपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक अधिकारीहरु बताउँछन्। भत्काइएका क्रसिङबाट साना–ठूला सवारी मनलाग्दी वारपार गर्दा दुर्घटनाको जोखिम रहेको धनगढीका स्थानीय भीम चौधरीले बताए।

उनले भने,‘जथाभावी बाटो क्रसिङ गर्छन्। त्यसले धेरै समस्या भइरहेको छ। यसले त ६ लेन सडकको कुनै औचित्य नै रहेन।’ ६ लेन सडकको दर्जन बढी स्थानमा मेडियन ब्रेक भत्काएर क्रसिङ बनाइएको छ। जथाभावी रुपमा बनाइएका क्रसिङका कारण पैदलयात्री सबैभन्दा बढी दुर्घटनाको जोखिममा छन्। शारिरीक असक्तहरुका लागि निर्माण गरिएको भनिएको क्रसिङमा अन्य सवारीको मनपरी भएको हो। अपांग असाहाय व्यक्तिहरुका लागि सो क्रसिङ बनाइएको सडक योजना कार्यालय धनगढीका सव–इन्जिनियर भूवन खड्काले बताए।

उनले भने, ‘अपांग असक्तका लागि क्रसिङ बनाइएको हो। ह्वील चीयरमा जानेहरुका लागि बाटो काट्न सजिलो होस भनेर। तर त्यहाँ मनपरी रुपमा सवारी वारपार गर्छन्। ट्राफिक प्रहरीले व्यवस्थापन गर्नुपर्ने हो।’ जथाभावी सवारी क्रसिङले टिप्पर, बस, हायस लगायत सवारी चालकलाई समेत सवारी चलाउन समस्या भइरहेको छ। त्यहाँबाट दुई पाङ्ग्रे तथा साना हलुका सवारीसाधनले मनलाग्दी क्रसिङ गर्दै आएका हुन्। सडकको मापदण्ड विपरीत सडक योजना कार्यालयले क्रसिङ बनाएपछि ट्राफिक प्रहरी पनि अन्योलमा देखिएको छ। केका लागि क्रसिङ बनाइएको हो भन्नेबारे स्पष्ट नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले बताए।

‘६ लेन सडकमा अपांग असक्तका लागि भनेर त्यसरी मेडियन तोडेर क्रसिङ बनाउन मिल्दैन’ उनले भने, ‘धेरैले यो जेब्रा क्रसिङ हो भनेर बुझेका छन्। केका लागि हो भनेर सडकले साकेंतिक चिह्न राखिदिनुपर्यो, होइन भने यो समस्याको रुपमा देखिएको छ।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस