सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छाडा चौपायाको समस्या उस्तै

२०७८ चैत्र १, ०३:५४ विन्दु चन्द

धनगढी: छाडा चौपायाका कारण सुदूरपश्चिमको अस्थायी राजधानीवासी हैरान भएका छन्। राजमार्ग तथा मुख्य सडकहरुमा सयौं छाडा चौपाया हुँदा हैरानी खेप्नु परिरहेको गुनासो राजधानीवासीको छ।

चौपायाका कारण सवारी साधन चलाउनै समस्या भइरहेको सवारी चालक धनसिंह कुँवरले बताए। उनले भने, ‘छाडा चौपाया बीच सडकमा बसिरहेका हुन्छन्। सवारी चलाउनै समस्या हुन्छ। रातिको समयमा बत्ती छैन, झन समस्या हुन्छ। चलाइरहेको अवस्थामा झ्याप्प अगाडि चौपाया आउँछन्। यसले दुर्घटना हुन्छ।’

पछिल्लो केही समययता मोहनापुल–अत्तरिया ६ लेन सडकमा मात्रै सवारीको ठक्करबाट दर्जन बढी चौपाया मरेका छन्। चौपायाकै कारण थुप्रै सवारी दुर्घटना हुँदा दर्जनौ व्यक्ति घाइते भएका छन्। बाक्लो रुपमा चौपाया हुँदा दुर्घटना हुने गरेको सवारी चालक धर्मानन्द जोशी बताउँछन्। ‘सडकमा सवारी चलाउनै मुस्किल छ। प्रतिनिधिले चौपाया व्यवस्थापन गर्छौ त भने, गौशाला पनि बनाए तर चौपाया सबै सडकमा’ उनले गुनासो गरे। 

छाडा चौपायाले किसानका खेतमा समेत नोक्सानी गर्ने गरेका छन्। रातदिन पालैपालो चौपाया भगाउन जाग्राम बस्नुपर्ने बाध्यता रहेको गुनासो कृषकहरुको छ। चौपायाले लगाएको खेती खाइदिने गरेको धनगढीकी रामकृष्णा चौधरी बताउँछिन्। उनले भनिन्, ‘चौपायाले खाएको गहुँ घाँस काट्नुपर्छ। दिनमा पनि चौकीदार बस्नुपर्छ, राति पनि।’

गत आर्थिक वर्ष २०७७/७८ मा गौशालामा रहेका चौपायाको आहारामा मात्रै धनगढी उपमहानगरपालिकाले ७ लाख ५६ हजार भुक्तानी गरेको छ। भने, चालू आर्थिक वर्ष ०७/७९ मा २ लाख २२ हजार ५ सय रकम भुक्तानी गरेको छ। उपमहानगरपालिकाले यसैगरी चौपाया व्यवस्थापनमा मात्रै करोड बढी खर्च गरेको छ। 

समुदायमा रहेका चौपायाहरुलाई गौशालामा लगेर राख्न सकिने धनगढी उपमहानगरपालिकाको सामुदाय विकास तथा सरसफाई शाखा प्रमुख टंक बिष्टले बताए। ‘अहिले त्यस्तो समस्या छैन। समुदायमा रहेका चौपाया अर्थात पाल्न नचाहनेहरुले पनि चौपाया गौशालामा लगेर राख्न सक्छन्’ उनले भने, ‘देवहरियामा गौशाला छ। हामीले कर्मचारी पनि राखेका छौँ। सडकमा भएका चौपायाहरु सफाइकर्मीहरुले पनि गौशालामा लगिरहेका छन्। चौपायाको त्यति धेरै समस्या छैन अहिले।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस