धनगढी प्याब्सन कप : थ्री स्टार, लिटल फ्लावर र पञ्चोदय विजयी
धनगढी : मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न तीन खेलमा थ्री स्टार बोर्डिङ स्कुल, लिटल फ्लावर बोर्डिङ हाइ स्कुल र पञ्चोदय माध्यमिक विद्यालय विजयी भएका छन्।
हिजो भएको पहिलो खेलमा वेष्टन क्रिष्टल एकेडेमीलाई ३४ रनले पराजित गर्दै थ्री स्टार बोर्डिङ स्कुल विजयी भयो। टस हारेर ब्याटिङको निम्तो पाएको थ्री स्टारले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनायो। १ सय २७ रनको विजयी लक्ष पछ्याएको वेष्टनले १५ ओभरमा ३ विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो। उसका लागि रमेश चौधरीले २१ र नीरज नेपाल तथा रोशन साउदले समान १७/१७ रन बनाए। त्यसअघि थ्री स्टारका किरण साउदले ३५, राजेश कार्कीले २१ र गणेश कुञ्जेडाले १७ तथा हेमन्त रोकायाले १५ रन बनाए। खेलको म्यान अफ दी म्याच किरण साउद चुनिए।
हिजै भएको दोस्रो खेलमा ओक्फोर्ड स्कुल लिटल फ्लावरसँग ५९ रनले पराजित भयो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावरले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १ सय ५० रनको चुनौतीपूर्ण विजयी लक्ष प्रस्तुत गर्यो। जवाफी ब्याटिङ थालेको ओक्फोर्डका नीराजन विष्टले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन। त्यसअघि पहिलो इनिङमा लिटल फ्लावरका लागि शैलेश केसीले ४ छक्का र ५ चौकासहित ४८ र अनुराग सिंहले ३ छक्का र ३ चौकसहित ४२ रनको अविजित पारी खेले। खेलको प्लेयर अफ दी म्याच अनुराग चुनिए।
तेस्रो खेलमा पञ्चोदयले ज्योति इङ्ग्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ थालेको ज्योति स्कुलले १५ ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो। ९२ रनको विजयी लक्षसहित मैदान उत्रेको पञ्चोदयले ११.३ ओभरमा ३ विकेट गुमाएर लक्ष भेट्टायो। उसका निकेश धामीले अविजित २६, विष्णु रेग्मीले ११ र सन्देश शाहले अविजित १० रन बनाए। खेलको म्यान अफ दी म्याच निकेश भए।
धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंयाँ, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ।
धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ। सहभागी विद्यालयहरूमा एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल, शारदा विद्या निकेतन, ग्यालेक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, अक्सफोर्ड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बोर्डिङ स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, थ्री स्टार बोर्डिङ स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालय रहेका छन्।