सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्कासँगको टेस्ट शृङ्खलामा भारतको ’क्लिन स्वीप’

। फोटो स्रोत ।
२०७८ फाल्गुन ३०, ०८:४३ खबर संवाददाता

श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेको छ। बेङ्गलोरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो। 

भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो। श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए। यस्तै कुशल मेन्डिजले ५४ रन जोडे। बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए।

दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नौ विकेट गुमाएको अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो। भारतका लागि  श्रेयस अय्यरले ६७, ऋषभ पन्तले ५० र रोहित शर्माले ४६ रन बनाएका थिए। बलिङतर्फ श्रीलङ्काका प्रभीन जयविक्रमाले चार र लसिथ इम्बुलदेनियाले तीन विकेट लिए। पहिलो इनिङ्समा एक सय ४३ रनले अघि रहेको भारतले समग्रमा चार सय ४६ रनको अग्रता लिएको थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा १० विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो। भारतका लागि श्रेयस अय्यरले ९२ र ऋषभ पन्तले ३९ रन बनाएका थिए। बलिङतर्फ श्रीलङ्काका प्रभीन जयविक्रमा र लसिथ इम्बुलदेनियाले तीन–तीन विकेट लिए।

श्रीलङ्का पहिलो इनिङ्समा एक सय नौ रनमै समेटियो। श्रीलङ्काका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ४३ रन बनाए। बलिङतर्फ भारतका जसप्रित बुमराहले पाँच विकेट लिँदा रविचन्द्रन अश्विन र मोहम्मद शमीले दुई–दुई विकेट लिए।

यसअघि पहिलो टेस्ट भारतले एक इनिङ्स र दुई सय २२ रनले जितेको थियो। यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पनि भारतले जितेको थियो। 

कमेन्ट लोड गर्नुस