९० लाखको चिठ्ठा र २ लाख पाउण्डको लोभमा २९ लाख रुपैयाँ स्वाहा
काठमाडौंः ९० लाख रुपैयाँको चिठ्ठा परेको भन्दै एक वृद्धाको २९ लाख ४० हजार रुपैयाँ गिरोहले ठगेको पाइएको छ। अपराध महाशाखाका अनुसार जोन लरेन्स नाम गरेका एक व्यक्तिले ती वृद्धलाई ९० लाख रुपैयाँको चिठ्ठा परेको र २ लाख पाउण्डसहितको सुटकेश पठाई दिएको भन्दै झुक्याए र ठगेका हुन्।
त्यसको केही दिनपछि भारतबाट एक व्यक्तिले ती वृद्धालाई फोन गरि उनको नाममा पार्सल आएको तर भन्सार बुझाउनुपर्ने भन्दै पटकपटक पैसा मागेका थिए। विश्वासमा परेर ती वृद्धाले विभिन्न अकाउन्टमा पैसा पठाएको पाइएको छ। उनले पैसा पठाएकामध्ये एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका ४ स्थायी घर भई भक्तपुरको ठिमी बस्दै आएका गान्दिप गौतम रहेका छन्।
३८ वर्षीय गान्दीपले आफूले पाउनु पर्ने पैसा पाएको र पीडित भनिएकी महिलासँग कुनै चिनजान नभएको प्रारम्भिक बयान दिएका छन्।