गुञ्जीमा १ सय फिट अग्लो भारतीय झण्डा राख्ने तयारी
दार्चुला: दार्चुलामा पर्ने गुञ्जीमा भारतले आफ्नो झण्डा राख्ने भएको छ। भारतले गुन्जीमा ४५ लाख खर्चेर १ सय फिट अग्लो झण्डा राख्न लागेको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ। भारत, चीन र नेपालको सीमासँगै समुद्र सतहबाट करिब ३२ सय मिटर अग्लो स्थानमा रहेको गुञ्जीमा १ सय फिट अग्लो झण्डा लहराइने भन्दै अमर उजालाले लेखेको छ।
२०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेटिएका छन्। तर गुञ्जीमा भारतीय झण्डा राखिरहेकोबारे दार्चुला प्रशासनलाई जानकारी छैन।