इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट विजयी
मोरङ: पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ। मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेकोे हो।
पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो। एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो। पूर्वाञ्चलका अजय राजवंशी चार विकेट लिन सफल भएसँगै ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेल समशेर क्रिकेट क्बल कानपुर (भारत) र सन्नी क्रिकेट क्बल कटियार (भारत) सँगको विजेता टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ।