सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका जनप्रतिनिधिले घोषणापत्र अनुसार काम सके त ? यसो भन्छन् मेयर

२०७८ फाल्गुन २७, ११:५८ कमल सावद

धनगढीः झण्डै पाँच वर्ष अगाडि कैलालीको गोदावरीमा ‘हाम्रो गोदावरी हाम्रो पहिचान, सम्वृद्ध गोदावरी हाम्रो अभियान’ नारासहित नगर प्रमुखमा नेकपा एमालेबाट हरिसिँह साउँद र उपप्रमुखमा रत्ना कडायत निर्वाचनमा होमिएका थिए। उनीहरुले सम्वृद्ध गोदावरीलाई घोषणापत्रमा पहिलो प्राथमिकतामा राखेका थिए।

तर गोदावरीलाई सम्वृद्ध बनाउने योजना तथा कार्यक्रमहरु निर्वाचित भएको पाँच वर्षसम्म पनि ल्याउन सकिएको छैन। गोदावरी नगरपालिकाका नागरिकको अवस्था उस्तै छ। नेपाली काँग्रेसबाट गोदावरी नगरपालिकाका नगर प्रमुखका प्रत्याशी रहेका वीरेन्द्र भट्टले घोषणापत्र अनुसार काम नभएको आरोप लगाएका छन्। ‘उहाँहरुको ठूला आश्वासनहरु थिए। व्यवस्थित सहरका योजनाहरु थिए, कर कम गर्ने कुराहरु थिए। नदीहरुमा बाढीको समस्या छ’ उनले भने, ‘तर उहाँहरु पैसा कसरी कमाउने भन्नेमा गए। उहाँहरुको विकास भयो तर नगरको विकास भएन।’

सफा व्यवस्थित पर्यटकीय नगर, आधुनिक कृषि विकास, सामूहिक व्यवसाय, व्यवस्थित यातायात, गुणस्तरीय शिक्षा र स्वास्थ्य, औद्योगिक क्षेत्रको विकास, सुदूरपश्चिमकै मुख्य व्यापारिक केन्द्रको रुपमा अत्तरियालाई विकास गर्न पनि उनीहरुले निर्वाचनमा देखाएका योजनाहरु थिए। स्मार्ट सिटी लगायतका नारा निर्वाचनको समयमा लगाए पनि पूरा भएनन्। 

नेकपा एकिकृत समाजवादीका गोदावरी नगर अध्यक्ष टेक विकले पनि घोषणापत्रमा समावेश भएका योजनाहरु पूरा नभएको बताएका छन्। उनले भने, ‘त्यो समयमा म पनि एमालेमा थिए। आर्थिक सम्वृद्धि, नागरिकलाई आर्थिक रुपमा सम्वृद्ध बनाउने, स्वरोजगार, आयात रोक्ने, उत्पादनमा वृद्धि, कृषि उत्पादनमा वृद्धि, नगर क्षेत्रका नागरिकलाई आयाआर्जनसँग जोड्ने योजनाहरु घोषणा पत्रमा समावेश गरेका थियाै‌’  उनी भन्छन्, ‘सम्वृद्ध र स्मार्ट गोदावरी बनाउने योजना घोषणा पत्रमा समावेश गरेका थियौं। उहाँहरुले निश्चित ठाउँमा सडक र पुल बनाउने बाहेक अन्य कुरा गरेनन्।’ 

उनीहरु आफू र आफू निकटका व्यक्तिहरु मात्र बनाउन केन्द्रीत भएकाले नगर नबनेको आरोप लागेको छ। टुक्रे योजना कार्यान्वयमै पाँच वर्ष बितेको पनि आरोप लागेको छ। नेकपा एकिकृत समाजवादीका गोदावरी नगर अध्यक्ष टेक विकले जनताले चाहे अनुसारको काम नभएको बताएका छन्। उनले सामाजिक रुपान्तरणका काम पनि पूरा नभएको दाबी गरे।  गोदावरी नगरपालिकालाई पर्यटकीय नगर बनाउने एमालेको घोषणा पत्रमा उल्लेख गरिएको थियो। तर पर्यटन क्षेत्रमा नगरपालिकाले खर्च गरेको रकमको समेत सदुपयोग भएको छैन। 

तर नगर प्रमुख हरिसिँह साउँदले भने ती आरोपहरु झुटा भएको बताएका छन्। प्रस्तुत छ उनीसँग दिनेशखबरले गरेको संक्षिप्त कुराकानी:
घोषणापत्र अनुसारका कति योजना पूरा गर्नुभयो ?
घोषणा पत्र अनुसार काम अगाडि बढाएका छौ। केही योजना पूरा भए होलान्, केही अधुरो रहे होलान्। केही काम गर्दा पनि एकै पटक हुँदैनन्। स्रोत साधन पनि हुँदैन। आर्थिक स्रोत पनि कम भएका कारणले गर्दा भनेअनुसार गर्न सकिँदैन। घोषणा पत्रमा रहेका केही काम गर्न सकेनौ। जस्तै, भूमि आयोगको काम। हामीले लालपूर्जा वितरण गर्ने घोषणा पत्रमा रोखका थियौ। तथ्यांक पनि संकलन गर्यौं तर सरकार परिवर्तन भयो। आयोग खारेज भयो। 

सडक र पुल बाहेकका कुनै पनि काम घोषणापत्र अनुसार भएनन् भन्ने छ नी
हामीले सडक, पुल, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाईलाई त हो हेर्ने। स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पुगाउदैछौ। १६ वटा स्वास्थ्यचौकी पुगाएका छौं।

तपाईको घोषणा पत्रमा सम्वृद्ध नगर भन्ने राख्नुभएको छ। त्यसका लागि कुनै पनि काम सुरुवात समेत गर्न सक्नुभएन नी ?
देशको अवस्था कस्तो छ ? हाम्रो नियम कानून कस्तो छ ? नियम कानूनले पनि बाधा पुर्‍याएको हुन्छ। मैले गोदावरी नगरपालिकामा बसपार्क निर्माणका लागि डिपीआर निर्माण गरेर ५० करोडको बसपार्क निर्माण सुरु गर्ने भनेको थिए। जग्गा नेपाली सेनाको भोगाधिकार भित्रपर्‍यो, के गर्ने हामीले ? वनको कानून एकतिर छ। पहिला बेचिएका बाटाहरु एकतिर छन्। विभिन्न चुनौतिहरु हाम्रो सामुन्ने छन्। तर चुनौतिका बावजूत पनि हामीले धेरै कामहरु गरेका छौं। २०४६ सालदेखि २०७३ सालसम्म नभएका कामहरु हामीले ४/५ वर्षमा अगाडि बढाएका छौं। 

पर्यटकीय नगरी बनाउँछु भन्नुभएको थियो। पाँच वर्षमा गरेका काम के–के हुन ?
मैले पर्यटकीय क्षेत्र बनाउने भनेर नायल ताल, गोदावरी धाम, लामीतालहरु भयो। विभिन्न कुराहरु गरेका छौं। डिपीआर बनाएका छौं। हामीसँग स्रोत साधन पुग्दैन। केन्द्रीय सरकारसँग माग गर्नुपर्छ। पर्यटन मन्त्रालयको पर्यटन विभागमा डिपीआर राखेका छौं। बजेट आएको भए, सहज हुने थियो हामीसँग बजेट हुँदैन। स्थानीय सरकारमा शाखाहरु छन्। शाखाहरुमा बजेट बाडिन्छ। डल्लो बजेट राख्न पाउने अधिकार हुँदैन। कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी, सहकारीलाई छुट्याउनु प¥यो। हामीले लेखेअनुसार अगाडि बगाएका छौं। आर्थिक स्रोत नभएकाले केही काम गर्न बाँकी छन्।

तपाईका प्रतिद्वन्दीको आरोप छ , नगर प्रमुख उप–प्रमुखको आर्थिक सुधार भयो । जनताको भएन ।
मान्छेले भन्न जे पनि भन्छन्। हाम्रो भवन छैन। भवन निर्माणको चरणमा छ। कानूनका कारण वडा कार्यालय बनेको छैन। भन्ने र गर्नेमा फरक पर्छ। प्रचण्डले नेपाललाई सिँगापुर बनाउछु पनि भन्नु भएको थियो। जब मानिस पदमा पुग्छ, भन्ने र गर्नेमा फरक हुन्छ।

अब बाँकी रहेको समयमा कति काम पूरा गर्नुहुन्छ ?
हामी घोषणापत्रमा टेकेर अगाडि बढेका छौं। हाम्रो केही काम सम्भव हुन सक्छन्। हामीले कार्यकालमा लालपूर्जा दिने भनेका थियौं तर सकेनाै‌। तपाईंहरुले बुझ्नुभएको छ गर्दागर्र्दै पनि कानूनले छेकेका पनि छन्। स्वास्थ्यको पहुँच बढाएका छौं। पहिलो ६/७ वटा मात्र थिए। अहिले १६ स्वास्थ्य चौकी पुर्‍याएका छाै‌। विद्यालयको अवस्था सुधार गर्दै प्राविधिक शिक्षा अगाडि बढाएका छौं। कृषिलाई पकेट क्षेत्रहरु बनाएर हरित गोदावरी र ग्रिन गोदावरी नीतिमा ल्याएर पकेट क्षेत्रहरु स्थापना गरेका छौं।

आशा आकांक्षाहरु धेरै हुन्छन्, स्थानीय सरकार आएपनि एकैपटक धेरै कुरा पाउँछौ लागेको हुन्छ। स्थानीय तहको नीति नियम बनाउन समय लाग्यो। नीति नियम बनाएपछि कोरोनाले अस्तव्यस्त पर्‍यो। हामीले गरेका योजनाहरु जनताको माझ लैजान्छौ। केन्द्रसम्म पुर्‍याएका कामहरु पनि हामी जनतालाई भन्छौ। प्रतिपक्षले आरोप लगाउनु धर्म हो। उहाँहरुले भन्नुहुन्छ। तर यस्तो छैन। केही नभएको चाँही होइन।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस