श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने टोलीविरुद्ध चार नेपाली ब्याट्सम्यानले बनाए अर्धसतक
काठमाडौंः विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ। तेस्रो अभ्यास खेलमा बिहीबार प्रथम श्रेणी क्रिकेट खेल्ने श्रीलंका पुलिसविरुद्ध भिडिरहेको नेपाली टोलीले ३ सय ३२ रनको लक्ष्य दिएको छ।
नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन जोडेको हो। नेपालका रोहित पौडेलले ७२, कुशल भुर्तेलले ५७, आसिफ शेखले ५२ र करन केसीले ५३ रन बनाए। कमलसिंह ऐरीले पनि ४५ रन जोडे। नेपालले अघिल्ला दुई खेलमा श्रीलंका नेभीमाथी फराकिलो जित हात पारेको थियो। यूएईमा हुने पपुआ न्युगिनीसमेत सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपालले तयारी गरिरहेको हो।