सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषधको कुलतमा फस्दै कैलालीका किशोरी र युवती

२०७८ फाल्गुन २६, ०३:५३ विन्दु चन्द

धनगढी : मंसिर अन्तिम साता कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गर्‍याे। लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ थकालिपुरबाट पक्राउ परेका ५ जनामध्ये दुई युवती थिए। जानकी गाउँपालिका–३ की १९ वर्षीया सविना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान बिकलाई लागूऔषधसहित पक्राउ गरिएको थियो। 

असोजमा धनगढीबाट लागूऔषसहित महिला पक्राउ परिन्। डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीय आशा बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा कोठाबाटै लागूऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको थियो। 

फागुन पहिलो साता धनगढीमा प्रहरीले लागूऔषधसहित युवतीलाइ पक्राउ ग¥यो। धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीया देउमती साउदलाई पक्राउ गरिएको थियो। 

यी उदाहरण मात्रै हुन्। पछिल्लो समय कैलालीमा लागूऔषध सेवन र ओसारपसारमा महिलाको संलग्नता बढ्दो क्रममा छ। अधिकांश १७÷१८ वर्षे किशोरीहरु साथीको लहलहैमा लागेर लागूऔषध सेवन गर्ने गरेको पाइएको हो। विगतमा लागूऔषध सेवनमा संलग्न पुरुष मात्रै सुधार केन्द्रमा हुने गरेका थिए भने अहिले महिलाहरुलाई पनि राख्ने गरिएको छ।

लागूऔषध सेवन गर्ने तथा मादकपदार्थ सेवन गर्ने युवतीहरुलाई उग्रतारा महिला सुधारकेन्द्र अत्तरियामा राखिएको छ। अहिले सुधारकेन्द्रमा चार जना महिलाहरु रहेको उग्रतारा महिला सुधारकेन्द्र अत्तरियाका काउन्सिलर पर्णव साउँदले बताए। उनले भने, ‘परिवारले घरमै ठिक भइहाल्छ भनेर लुकाएर राख्ने गरेका छन्। अति भएपछि बल्ल सुधारकेन्द्रमा ल्याउने गरिएको छ।’

यस्तै जिल्ला कारागार कैलालीमा तीन जना थुनुवा र चार जना कैदीबन्दी गरी लागूऔषध सेवनकर्ता तथा ओसारपसार गर्ने मुद्दामा सात जना महिलाहरु छन्। कारागारबाट रिहा भएर गइसकेका युवतीहरु फेरि सोही मुद्दामा कारागार चलान हुने गरेका जिल्ला कारागार कैलालीका सहायक जेलर टेकबहादुर  किमाडीले बताए। उनले भने, ‘जिल्ला कारागारमा रहेका अधिकांश महिला कैलालीका छन्। उनीहरु १७÷१८ वर्षका किशोरीहरु नै हुन्। साथीहरुको लहलहैमा लागेर कुलतमा फसेको देखिन्छ।’

पछिल्लो समय इन्टरनेटको गलत प्रयोगका कारणले पनि अधिकांश किशोरी तथा युवतीहरु कुलतमा फसिरहेको पाइएको छ। बढी जसो शहर क्षेत्रका किशोरी तथा अविवाहीत युवतीहरुले लागूऔषध सेवन गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनले भने, ‘प्रविधिको दुरुपयोग र साथीहरुको लहलहैमा लागेर सामूहीक रुपमा लागूऔषध सेवन गरेको पाइन्छ।’ धेरैले त प्रेममा धोका पाएर पनि कुलतमा फस्ने गरेको उनले बताए। सहरी क्षेत्रका १७ वर्षदेखि २५ वर्षका किशोरी तथा युवतीहरु लागूऔषध सेवनमा संलग्न रहेको प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा तीन वर्षको अवधिमा २१ महिला लागूऔषको मुद्धामा पक्राउ परेका छन्। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस