सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तह समीक्षा : पुनर्वासमा प्रतिवद्धताअनुसार भएन काम

२०७८ फाल्गुन २६, ०७:१४ नारायण अवस्थी

धनगढी : २०७४ को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुखका उम्मेदवारहरूले भूमिहिनलाई लालपुर्जा बाड्ने, नगरपालिकाका सबै सडक कालोपत्र गर्ने, हराभरा नगर बनाउने, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्र समेटी सयौं योजना कार्यान्वयन गर्ने प्रतिवद्दता गरेका थिए।

नगर प्रमुख जीवन थापा एमालेबाट विजयी भएर अहिले एकीकृत समाजवादीमा लागेका छन्। तर ५ वर्षसम्म चुनावी घोषणा आधा पनि पूरा नभएको नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार रहेका तोयनाथ शर्माले दिनेशखबरलाई बताए। 'नगरपालिकाकामा चुनावी प्रतिवद्धताको ३५ प्रतिशत पनि काम भएको छैन,' उनले भने, 'लालपुर्जा वितरण गर्ने, सडक कालोपत्र गर्ने, हरियालीयुक्त नगर बनाउने कुनै पनि प्रतिबद्धता पूरा भएनन्।'

पुनर्वासका स्थानीयले नगर प्रमुख थापाले पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका छन्। संघ, प्रदेश र नगरपालिकामा समेत एकक्षेत्र राज गर्ने विरलैको अवसर पाए पनि नगरवासीको हितमा उल्लेख गर्न लायक कुनै काम गर्न नसकेको उनीहरुको दाबी छ।

सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत कृषि तथा बस्ती विकासमा काम गर्न नसकेर ५ वर्षको समय नगर प्रमुख थापाले खेर फाल्ने काम गरेको पुनर्वासका स्थानीय बालकृष्ण ढकालको भनाई छ।

'नगर प्रमुखसँग विरलै प्राप्त हुने अवसर थियो तर त्यो अवसर सदुपयोग गर्न सकेनन्,' उनले भने, 'स्थानीय तह, प्रदेश र संघमा सत्तामा बसेको पार्टीको नेता भएर पनि थापा उल्लेख्य काम गर्न असफल देखिए।'

पुनर्वास नगरपालिका वडा नम्बर ४ जनकबस्तीका तारा गिरीले ५ वर्षमा नगरपालिकाले बनाउने भन्दा भत्काउने काम बढी गरेको बताए। नगरपालिकामा आएका योजनामा कमिसन खाने धन्दा मौलाएको गिरीको आरोप छ।

'जनप्रतिनिधिले ५ वर्षमा बनाउने भन्दा भत्काउने काम गरेका छन्,' उनले भने, ' चुनावी घोषणा पूरा गर्न छोडेर कमिसन कसरी खाने भनेर सबैले प्रतिस्पर्धा गरेको देखियो।' नगरपालिकाका उपप्रमुख शारदा शर्मा विष्टले भने ५ वर्षमा नगरपालिकाले विभिन्न अभाव र समस्या झेलेर पनि जनतालाई सुविधा हुने शिक्षा, स्वास्थ्य, सडक निर्माणमा काम गरेको दाबी गरेकी छन्।

नयाँ संरचनामा सुरुमा कुनै अनुभव नभए पनि नगरपालिकाले विकास गरेको उनको दाबी छ। 'हामी सुरूमा निर्वाचित भएर आउँदा सबै कुरा नयाँ थियो। थुप्रै कुराको अभावका बीच पनि हामीले काम गरेका छौँ,´ उनले भनिन्, 'चुनावमा भने जति गर्न राजनीतिक खिचातानीले गर्दा सम्भव नभएको भए पनि कुनै पनि काम नभएको भन्ने कुरा गलत हो।' ५ वर्षे कार्यकाल सकिन लागेसँगै जनप्रतिनिधिले गरेका कामको समिक्षा हुन थालेको हो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस