सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ वर्षसम्म अधुरै सेती अस्पतालको भवन, सेवा प्रवाहमा समस्या

२०७८ फाल्गुन २४, १०:२९ विन्दु चन्द

धनगढी : सेती प्रादेशिक अस्पतालको मातृ तथा नवजात शिशु भवन निर्माणको काम चार वर्षसम्म अधुरै रहेको छ। मातृ तथा नवजात शिशु, प्रसूति तथा स्त्री रोगको उपचार एकीकृत रुपमा गर्ने उद्देश्यले २०७६ बैशाखमा सक्ने गरी २०७४ कात्तिक २७ गते निर्माण सम्झौता भएकोमा चार वर्षसम्म अधुरै रहेको हो।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइले २१ करोडमा भवन निर्माणका लागि रवीना थेगिम जेभीसंग ठेक्का सम्झौता गरेको थियो। समयमै निर्माण कार्य सम्पन्न नहुँदा अस्पतालले दिने सेवा प्रभावित भइरहेको छ। भवन अभावकै कारण सेवाग्राहीहरुलाई सेवा दिन समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमारी श्रेष्ठले बताए।

‘नयाँ भवन समयमै निर्माण भए प्रदेशका सेवाग्राहीले लाभ पाउने थिए,’ उनले भने, ‘तर निर्माण कार्यमा ढिलाई भइरहेको छ। अस्पतालबाट दिने सेवा पनि प्रभावित बनिरहेका छन्। भवन नहुँदा धेरै समस्या भइरहेको छ। सेवाग्राहीले पनि सास्ती खेप्नु परिरहेको छ।’

सेती प्रादेशिक अस्पतालमा अहिले प्रसुति सेवा लिनेको संख्या बढेको छ। दैनिक ४० बढी सेवाग्राहीहरुले प्रसूति सेवा लिने गरेका छन्। कोरोना माहामाहरीका कारण निर्माण कार्यमा ढिलाई भएको रवीना थेगिम जेभीका प्रतिनिधि पवन कुमार मण्डलले बताए। उनले भने, ‘कोरोना माहामारीले कामदारहरु काम गर्न आएन्। अहिले पनि कामदार आउन डराइरहेका छन्। तर निर्माण कार्य भइरहेको छ। चैत मसान्तमा सम्पन्न हुन्छ।’

सो भवन निर्माणका लागि दु्ई पटक म्याद थप गरिएको छ। अब २०८७ चैत मसान्तमा सक्ने गरी निर्माण कार्य भइरहेको जनाइएको छ। सो भवनको ९० प्रतिशत काम भइसकेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइका इञ्जिनीयर दिनेश श्रेष्ठले बताए। उनले भने, ‘छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ। तर अझै पनि चैत मसान्तमा काम सम्पन्न होला जस्तो छै्रन। दुई पटक म्याद थप भइसकेको छ।’

सेतीको निर्माणाधिन भवनमा ८ ब्लक रहेका छन्। भवन सम्पन्न भए सेती अस्पतालको पूरानो भवनमा रहेका प्रसूति, नवजात शिशु, शल्यक्रिया कक्ष लगायतका सबै सेवा नयाँ भवनबाट दिने अस्पतालको योजना थियो। नयाँ भवनमा एकीकृत रुपमा नवजात शिशु, प्रसुति उपचार, शल्यक्रिया कक्ष, ल्याब, एक्सरे, इमर्जेन्सी र बहिरंग सेवा सञ्चालन गरिने जनाइएको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस