कञ्चनपुरमा बृहत् यौनिकता शिक्षा विकासबारे कार्यशाला गोष्ठी सम्पन्न
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बृहत् यौनिकता शिक्षा विकास बारेमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यबारे युवाहरुलाई जानकारी गराउने उद्देश्यले सोमबार कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।
कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट १५ देखि ३० वर्षका युवा, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। निलहिरा समाज र राईट हियर राईट नाउ (एसआरएचआर) युवा र बीबीसी संस्थाले महेन्द्रनगरमा बृहत् छलफलका साथै सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय (एलजिबिटीक्यू)ले र युवा वर्ग अपाङ्गता भएका महिलालगायतले खेप्नुपरेको समस्या समाधानका उपाय, चुनौती र सुझाव संकलन गरी त्यसको समाधानका साथै आगामी दिनमा थप यस्ता किसिमका कार्यशाला गोष्ठी र कार्यक्रमको आयोजना गरिनुपर्ने निलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताइन्।
उनले भनिन्, 'यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारको पहिचानको लागि जनसमुदायसम्म जनचेतना जोगाउनका लागि मिडियाले पनि ठुलो भूमिका खेलेको छ, आगामी दिनमा पनि सम्पूर्ण संघसंस्थाको तर्फबाट यस्तै सहयोग रहिरहोस्।' १५-३० वर्षका युवालाई विशेष लक्षित गर्दै उक्त कञ्चनपुरमा यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो।