सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी अर्थात् ‘धुलो’गढी

२०७८ फाल्गुन २१, ०४:२५ विन्दु चन्द

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी दिन प्रतिदिन धुलाम्य बन्दै गएको छ। राजधानीका प्राय सबै सडकको अवस्था दयनिय भएपछि धुलोले हैरानी बढाएको हो। अहिले ६ लेनबाहेक अन्य सडकमा आवतजावत गर्नै मुस्किल भएको राजधानीवासीको गुनासो छ। 

सडकमा उड्ने धुलोका कारण हिँड्डुल गर्नै समस्या भइरहेको धनगढीका विजय चौधरीले बताए। उनले भने, ‘ठूलो गाडी आयो भनै त धेरै धुलो उड्छ। सबै धुलो आँखामा पस्छ। स्वास फेर्न पनि गाह्रो हुन्छ।’ दिउँसो काम गर्न निस्के साँझ धुलोकै कारण टाउको दुख्ने, रुघा लाग्ने समस्या हुनेगरेको उनी बताउँछन्। 

अहिले धनगढी उपमहानगरपालिकाको मुख्य सडक भत्केर भताभुंग भएको छ। मुख्य सडकपछि सबैभन्दा बढी सवारी चाप हुने सहीदगेट–क्याम्पस रोड सडक निर्माणाधीन अवस्थामा हुँदा त्यहाँ झनै धुलो उड्ने गरेको छ। सम्बन्धित निकायको लापरबाहीका कारण आफूहरुले सास्ती खेप्नु परिरहेको गुनासो स्थानीय एलिना सुनारको छ। उनी भन्छिन्, ‘सम्बन्धित निकायको लापरबाही र बेवास्ता हो। धुलै धुलोले स्वास्थ्यमा समेत असर गर्छ। धुलोका कारण हिँडनै समस्या भइरहेको छ। 

केही दिनयता धनगढीको वायु प्रदूषण १२० एक्यूआई(एयर क्वालिटी इन्डेक्स) भन्दा माथि रहेको पाइएको छ, जुन हावा श्वासप्रश्वासका बिरामीलाई घातक हुनसक्छ। शनिबार मात्रै धनगढीको एक्यूआई १२४ पुगेको छ। वायु गुणस्तर सूचकांक एक्यूआई १०० भन्दा माथि गएमा त्यो मानव स्वास्थ्यका लागि हानिकारक बन्न थाल्दछ। अब गर्मीयाममा यो लेभल बढ्दै जाने अधिकारी बताउँछन्।

 धनगढीका विभिन्न सडक संघीय सरकारले निर्माण गरिरहेको छ। तर निर्माणाधीन सडकमा निर्माण व्यवसायीले पानी नहाल्ने गरेकाले सबैभन्दा बढी सडक वरपरका बासिन्दालाई हैरानी भएको छ। धुलोका कारण व्यापार व्यवसायमा समेत असर गरेको धनगढीकै एक व्यवसायी सीताराम पार्कीले बताए। ‘सडकको धुलो घरभित्र समेत पसेर हैरान बनाएको छ भने व्यवसायमा पनि असर भइरहेको छ’, उनले भने। पार्की थप्छन्, ‘बिहान, दिउँसो र साँझ पानी हाल्दिनुपर्ने हो। तर सम्बन्धित निकायले मतलब गर्दैन।’

क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत धनगढीमा ७ ओटा सडक निर्माण भइरहेका छन्। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालयका सूचना अधिकारी द्रोण कटुवालले सडकमा पानी हाल्ने व्यवस्था रहेको दाबी गरेका छन्। चर्को घाम लाग्ने भएकाले सडकमा हालेको पानी छोटो समयमा सुक्दा समस्या हुनेगरेको उनले बताए। ‘सडकमा साना ठूला सवारी साधनहरु चल्छन्। सडकमा धुलो नउडोस् र नागरिकलाई सास्ती नहोस् भनेर निरन्तर पानी हालिरहेका छौं’ उनले भने। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस