रुसद्वारा युद्धविराम घोषणा
काठमाडौँः युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले युद्धविराम घोषणा गरेको छ। मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो।
रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ। तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ-आज मार्च ५का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ। साथै मरिपोल र भोल्नोखोभाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ।
दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो। रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ। साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ। मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको छ।