सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्लास्टिक मुक्त’ धनगढी बनाउने घोषणा अलपत्र

२०७८ फाल्गुन २१, ०७:१३ विन्दु चन्द

धनगढीः झण्डै अढाई वर्ष अगाडि ०७६ साल असोजमा धनगढी उपमहानगरपालिकाले प्लाष्टिकरहित नगर बनाउने अभियानको सुरुवात गरेको थियो। अभियानअन्तर्गत पहिलो दिन ०७६ असोज २४ गते धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र वातावरण शाखाका कर्मचारीले धनगढीको त्रिनगर हाट बजारमा पुगेर व्यापारी र ग्राहकलाई अभियानबारे जानकारी गराएका थिए। तर उक्त अभियान अहिले अलपत्र परेको छ। 

धनगढीमा जतातै प्लास्टिकजन्य फोहोर हुँदा हैरानी खेप्नु परिरहेको धनगढीका केशव भट्टले बताए। उनले प्लास्टिकका कारण सास्ती भइरहेको बताए। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो धनगढी। राजधानीबाट प्रदेशका विभिन्न क्षेत्रमा आवतजावत हुने गरेको छ। पर्यटक समेत राजधानी छिरेरै अन्य क्षेत्र जाने गर्छन। नजिककै रहेको त्रिनगर भन्सारबाट समेत पर्यटक भित्रिन्छन्। तर राजधानीकै क्षेत्रभित्र जताततै फोहोर तथा प्लास्टिकजन्य पदार्थले यहाँ आउने नागरिकको मन खिन्न हुने गरेको छ। 

राजधानीकै अवस्था दयनीय हुनु दुखद रहेको धनगढीका स्थानीय रमेश विश्वकर्माले बताए। उनले भने, ‘जताततै प्लास्टिक मात्रै छ। यस्ले वातावरण प्रदुषण बढाएको छ। बाहीरबाट आउने पर्यटकहरुको पनि यहाँ पस्दा मन खिन्न हुन्छ।’
प्लास्टिकजन्य पदार्थले एकतिर वातावरण प्रदुषण बढाएको छ भने, नगर क्षेत्र नै दुर्गन्धीत बनेको छ। मुख्य बजार टोल तथा जथाभावी सडक किनारमा प्लास्टिक फाल्ने वा जलाउने गर्दा सास्ती खेप्नु परेको छ।

प्लास्टिक मुक्त नगरको एजेण्डा अहिलेका जनप्रतिनिधिले चुनावमा पनि बनाएका थिए। तर त्यो एजेण्डा कार्यान्वयनको चरणमा पनि गएको छैन। प्लास्टिकजन्य फोहोर बाल्दा हिँड्नै समस्या हुने गरेको धनगढीकी स्थानीय मिनाक्षी पनेरुले बताइन्। उनले भनिन्, ‘जनप्रतिनिधिले नगरवासीका लागि झुटा आस्वासन दिए। दोस्रो चुनाव आइसक्यो कार्यान्वयन हुने भए अहिलेसम्म भइसक्थ्यो होला।’

धनगढी उपमहानगरपालिका आफैँले धनगढीलाई सुन्दर तथा प्लास्टिक मुक्त शहर बनाउने घोषणा गरेको थियो। उपमहानगरमा प्लास्टिक प्रयोग गर्नेलाई कार्बाही गर्ने दाबी पनि गरिएको थियो। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने कोरोना माहामारीका कारण अभियान चलाउन नसकेको बताए। उनले भने, ‘धनगढीलाई प्लास्टिक रहित बनाउने घोषणा गयौँ र हाट बजारमा प्लास्टिकको सट्टा कपडाको झोला पनि वितरण गरेका थियौं। तर अभियानककै क्रममा कोरोना माहामारी आएपछि चलाउन समस्या भयो।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस