कञ्चनपुरका प्रहरी जवान नै लुटपाट आरोपमा पक्राउ, ८ जना मिलेका थिए
धनगढीः काठमाडौंबाट लुटपाटको अभियोगमा ८ जना पक्राउ परेका छन्। फागुन १२ गते साँझ साढे ७ बजे नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौँ भन्दै नियन्त्रणमा लिएर पसल लुटपाट गर्नेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका २६ वर्षीय शंकर रेग्मी, डडेलधुराका २८ वर्षीय हिक्मत महता, कन्चनपुरका २७ वर्षीय सुवाश रतोकी, ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार रहेका छन्। कन्चनपुरका रतोकी नेपाल प्रहरीमै कार्यरत रहेको खुलेको छ।
‘तपाईको पसलमा अवैध औषधि बिक्री वितरण गर्ने गरेको रहेछ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं’ भनि पसल सञ्चालकलाई नियन्त्रणमा लिइ पसलको काउन्टरमा भएको नगद, साथमा रहेको मोबाइल, घडी र ६५ हजार रुपैयाँ लुटपाट गरेको कोइरालाले बताए। लुटपाट भएको सामग्रीसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।