सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो।
बैठकले खोज, उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्न सबैमा अपिल गर्ने निर्णयसमेत गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले जानकारी दिए। यसैगरी, धनगढी उपमहानगरपालिका–३ स्थित शान्ति सामुदायिक वनको चार दशमलव ८१ हेक्टर जग्गामा बसपार्क निर्माण गर्ने प्रस्ताव गरेकाले त्यसका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि सारेका दुई वैकल्पिक सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण गर्ने निर्णयसमेत गरिएको छ । जसअनुसार कञ्चनपुरको कृष्णपुर, डडेल्धुरा, बैतडी र बझाङ जोड्ने दैजी–लिप्ना–जोगबुढा–ढुङ्गादेउरा सडक तथा कञ्चनपुर, डडेल्धुरा र डोटी जोड्ने बैलौरी भन्सार–कलुवापुर–नाइल–बुडर सडक रहेका छन्।
यस्तै, सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तर्गतका सबै निकायमा स्तनपान कक्ष स्थापना तथा सञ्चालनमा ल्याउने निर्णयसमेत गरिएको छ। साथै, ती सबै निकायमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने र स्यानिटरी प्याडको सहज तथा नियमित व्यवस्थापन गर्ने निर्णय भएको छ।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा धर्मराज जोशीलाई पदस्थापन गर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रावललाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।