फलफूल पसलमा गाँजा बेच्ने एक युवक पक्राउ
जनकपुरधामः फलफूल पसलमा गाँजा बेचेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका –५ दुधमती चोकमा सोही ठाउँका रवि साहका छोरा १९ वर्षीय अरूण कुमार साह रहेका छन्।
साहले सञ्चालन गरेको फलफूल पसलमा गाँजा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको १३ थान पुरिया बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
उनको साथबाट प्रहरीले ९० ग्राम गाँजा बरामद गरेको छ। पक्राउ परेका उनीमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक दिन ७ म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।