सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबको जित

२०७८ फाल्गुन १८, ०७:०९ रासस

काठमाडौँ: राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सुखद सुरुआत गरेको हो। भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक एक गोल गरे।

यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए। खेलको २४औँ मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए। खेलको ३८औँ मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ५१औँ मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए। खेलको ६३औँ मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । यस जितसँगै भगवतीले तीन अङक जोडेको छ। यता झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ। लिगमा १४ क्लबले सिङगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन्। त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन्।

कमेन्ट लोड गर्नुस