कोरोना शान्तिएपछि रमाए शिवभक्त
धनगढी: दुई वर्ष कोरोना महामारीका कारण महाशिवरात्री पर्व पूजापाठमा मात्रै सिमित भएकोमा यसवर्ष भने उल्लासका साथ मनाइएको छ। कोरोना भाइरसको संक्रमण घटेपछि शिवरात्रीको रौनक पनि फर्किएको हो। मंगलबार धनगढीस्थित शिवपुरी धाममा पनि भक्तजनहरुको घुँइचो लागेको थियो। गत वर्ष कोरोना माहामारीका कारण सामान्य पूजापाठ मात्रै गरिएकोमा यस वर्ष भने उल्लासमय भएको शिवपुरी धाममा भेटिएकी सानी बोहराले बताइन्। उनले भनिन्, ‘गत वर्षहरुमा त केही रमाइलो भएन। सामान्य पूजापाठ गरियो। तर यस वर्ष भने साथीभाइ सबैसँग भेटघाट भयो, रमाइलो भयो।’
भगवान शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ। शिवजीको ब्रत बसेर पूजाआजा गरि उल्लासमयपूर्ण शिवरात्री मनाएको शिवपुरी धाममै भेटिएकी दिपा बोहराले बताइन्। उनले भनिन्, ‘सानैदेखि शिवरात्रीमा व्रत वरियो अहिले पनि बसेकी छुँ। रमाइलो भयो।’
धनगढीको शिवपुरीसँगै बेहडा वावा, जाखोर ताल लगायतका सुदूरपश्चिमका सबै शिवालयहरुमा मंगलवार दर्शनार्थीहरुको घुइँचो थियो। दुई वर्षपछि शिवरात्रीको रौनक फर्किएपछि शिवालयहरुमा उल्लास छाएको थियो। धनगढीको धार्मिक पर्यटकियस्थल शिवपुरी धाममा मात्रै झण्डै एक लाख भक्तजन पुगेको दाबी गरिएको छ।
गत वर्ष कोरोना माहामारीका कारण खासै भक्तजनको उपस्थिती नभएकोमा यस वर्ष भने झण्डै एक लाख भक्तजनले अवलोकन गरेको धामका उपाध्यक्ष सिद्धराज पनेरुले बताए। धाम परिसरमा भक्तजनको भीड बढेपछि व्यवस्थापनमा सुराक्षाकर्मीले सहयोग गरेको उनले बताए। उनले भने, ‘यस वर्ष एकदमै भीड थियो। ट्राफिक प्रहरीले यातायात व्यवस्थापनमा सहयोग गरेको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले धाम परिसरको व्यवस्थापनमा सहयोग गरेको थियो।’
यसैगरी कञ्चनपुरको लिंगाधाम, डडेल्धुराको परशुराम, बैतडीको पाताभुमेश्वर लगायत शिव मन्दिरहरुको भक्तजनको घुँइचो लागेको छ। व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन छ। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।