६ लेन सडक अन्तर्गतका पुलको निर्माण सुस्त
धनगढी: कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत पर्ने मोहना नदीको पुल निर्माणको काम अझै सुरु भएको छैन। सम्झौता भएको १५ दिनभित्र निर्माण सुरु गर्नुपर्नेमा अझै केही दिन बाँकी रहेको निर्माणको जिम्मा पाएको एम/एस रायमाझी कन्स्ट्रक्सनका प्रतिनिधि भरत रायमाझीले बताए।
यहि फागुन ६ गते मोहना पुल निर्माणको काम २०८१ जेठमा सक्ने गरी १३ करोड १७ लाख ६३ हजारमा सम्झौता भएको थियो। मोहनापुल ६ लेन सडक अन्तरगत रहेका तीन ओटै पुल निर्माणको सम्झौता भइसकेको छ। जसमा सुनीखोला र मनहेराको काम भइरहेको छ।
सुनिखोला पुल निर्माणको काम २०७९ असोजमा सक्नेगरी २०७७ माघ २६ गते राजेन्द्र निर्माण सेवा र योजना कार्यालयबीच तीन करोड ३७ लाख ८९ हजारमा सम्झौता भएको थियो। यस्तै २०८० भदौ मसान्तमा सक्नेगरी २०७७ चैत्र ३१ गते ६ करोड ९९ लाख २ लाखमा मनहेरा पुल निर्माणको काम उच्चाकोटी सनिदेव साजेन्द्रेश्वर जेभीलाई दिइएको थियो। मनहेरा पुल निर्माणको काम पनि निराशाजनक नै छ। अहिले एप्रोज रोडहरुको कामहरु भएको र अन्य काम केही दिनपछि सुरु हुने उच्चाकोटी सनिदेव साजेन्द्रेश्वर जेभीका प्रतिनिधि यज्ञराज जोशीले बताए।
मोहनापुल अत्तरिया ६ लेन सडकअन्तरगत पर्ने सुनीखोला पुल निर्माणको भौतिक प्रगति २९ प्रतिशत भएको छ भने मनहेरा पुलको भौतिक प्रगति ५ प्रतिशत रहेको मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका सूचना अधिकारी भुवनबहादुर खड्काले बताए। मोहनापुल निर्माणको सम्झौता हालै भएकाले सुरु गर्ने तयारी भइरहेको उनले बताए।
२०७४ जेठदेखि निर्माण सुरु गरिएको १४ किलोमिटर ६ लेन सडक निर्माणका लागि चौथो पटक म्याद थप गरेर चैत मसान्तसम्मको समय सीमा तोकिएको छ।