सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता पौडेल

२०७८ फाल्गुन १४, ०९:०४ रासस

तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन्। शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। 

एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप लगाए। गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उहाँले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताए। 

पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताए। कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिएका थिए। अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट घटकहरूले एमसिसी माग गरेर मुहर्त रूप दिने अवस्थामा भागेको आरोप लगाए। अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक सङ्कटमा धकेल्ने षड्यन्त्र भएको बताए।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेकांबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। व्यासनगरपालिकाको ११ लाख एक हजार २५० को लागतमा स्व परियारको अर्धकदको शालिक निर्माण गरिएको हो।
 

कमेन्ट लोड गर्नुस