सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस कैलाली अधिवेशन : केन्द्रीय सदस्यको साथ भट्टलाई, मिश्र पनि संगसंगै

२०७८ फाल्गुन १३, ०६:५६ खबर संवाददाता

धनगढी : काँग्रेस कैलालीका नेता नारायणदत्त भट्टले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा पत्रकार सम्मेलन गर्दै भट्टले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। वरिपरी केन्द्रीय सदस्यलाई राखेर उम्मेदवारी घोषणा गर्दै भट्टले भने, ‘पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको इच्छाअनुसार म अगाडि बढेको हुँ। सम्पूर्ण साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु।’

उक्त पक्षले संस्थापन पक्षको आधिकारिक उम्मेदवार भट्ट नै भएको दाबी गरेको छ। घोषण सभामा कैलालीमा रहेका काँग्रेसका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो। धनगढीका मेयर तथा काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, उपमेयर तथा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, केन्द्रीय सदस्य जिवन राना, इश्वरी न्यौपाने, रणबहादुर रावल लगायतको सहभागिता रहेको थियो।

यस्तै संस्थापन इतरका नेता तथा राष्ट्रियसभा सदस्यमा विजयी नारायणदत्त मिश्र पनि भट्टको घोषणा सभामा सहभागी भएका थिए। सभापतिमा भट्टले उम्मेदवारी घोषणा गरे पनि उनको प्यानलबाट चुनाव लड्ने अन्य पदाधिकारी र सदस्यको भने टुंगो लागेको छैन।

१५ गते हुने चुनावअन्तर्गत भोलि मनोनयन दर्ताको तालिका छ। जिल्ला सभापतिमा संस्थापन पक्षबाटै प्रकाशबहादुर बम र भीम बडुवालले पनि उम्मेदवारी दिने बताएका छन्। यस्तै इतर पक्षबाट रामबहादुर कलेलको चर्चा छ। 

कमेन्ट लोड गर्नुस