इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु
पादाङ: इन्डोनेसियामा शुक्रबार ६।२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ।
“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोँच सकेनौ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने। भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ। भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन्। इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ।