सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर एलपीएल–६ः ह्वाइट हाउस, शारदा, सत्यवती र विद्या भूषण सेमिफाइनलमा

२०७८ फाल्गुन १२, ०३:४६ खबर संवाददाता

धनगढीः धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो। समूह ‘ए’ बाट जित्नैपर्ने खेलमा ह्वाइट हाउससँग ८० रनले पराजित भएसँगै होलिल्याण्ड उपाधि होडबाट बाहिरिदा शारदा सरस्वती दोधारालाई फाइदा पुगेको छ। शारदा रन रेटमा होलिल्याण्ड र एभरेस्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ। शारदा सम्मिलित समूहबाट ह्वाइट हाउस समूह विजेता बनेर ८ अंकसहित सेमिफाइनलमा पुगेको छ। शारदाको ४ अंक छ। समूह ‘बी’ बाट विद्या भूषणलाई रन रेटमा पछि पार्दै सत्यवती समूह विजेता बनेर सेमिफइलन पुग्दा विद्या भूषण समूह उप–विजेता बनेर सेमिफइनल पुगेको छ। दुबै टिमको अंक भने समान ६÷६ रहेको छ। 

समूह चरणको जित्र्नैपर्ने अन्तिम खेलमा होलिल्याण्ड अत्तरीयाले ह्वाइट हाउससँग ८० रनको हार ब्यहोर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। १ सय ९७ रनको विशाल विजयी लक्ष पछ्याएको होलिल्याण्डले १५.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १६ रन मात्रै बनाउन सक्यो। उसका राज विश्वकर्माले २७ बलमा ३०, दीपक टमाटाले १३ बलमा २२ र अभिषेक पालले ७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानको प्रदर्शन सम्झनलायक बन्न सकेन। होलिल्याण्डलाई सस्तैमा समेट्न बलिङ तर्फ हिमालयनका वशन्त सिंह कार्कीले महत्वपूर्ण ४, राहुल भण्डारी र सतिश यादवले समान २÷२ तथा सार्थक धितालले १ विकेट लिए। 

यसअघि हिमालयनका लागि दीपक बोहराको जोडीले ५७ बलमा ९६ रनको उत्कृष्ट साझेदारी गर्दै हिमालयनलाई राम्रो सुरुवात दिलाए। ९.३ ओभरमा पहिलो विकेट गुमाएको हिमालयनका लागि दीपक बोहरा (जुनियर) ले ४९ बलमा ५ छक्का र ८ चौकाको मद्दतले ८७ रनको उत्कृष्ट पारी खेले। उसका राहुल भण्डारीले १५ बलमा २९, नारायण जोशीले ९ बलमा २७, दीपक बोहरा (सिनियर) ले २७ बलमा २१ रन बनाए। बलिङ तर्फ होलिल्याण्डका जीत साउदले ३ र गजेन्द्र बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच दिपक बोहरा(जुनियर) घोषित भए। गेम चेन्जर अवार्ड वशन्त सिंह कार्कीले पाउँदा, सर्बाधिक छक्काको अवार्ड दिपक बोहरा(जुनियर) ले नै पाए। भोलि शुक्रबार हुने सेमिफइनलको पहिलो खेलमा बिहान ९ः३० बजे ह्वाइट हाउस र विद्या भूषण तथा दोश्रो सेमिफइनल खेलमा दिउसो १ः३० बजे सत्यवती र शारदा भिड्नेछन्।

कमेन्ट लोड गर्नुस