सुदूरकी बेहुली खप्तड

बेहुला, बेहुली भन्ने वित्तिकै जो कोहीलाई पनि थाहा होला । एउटा मानिसको जीवनकालमा एक पटक अथवा केही त्यस्तो समस्या परि आए दुई पटक अथवा तीन पटकसम्म मात्र दुलाहा दुलही बन्न सकिन्छ र उदाहरणहरु देखिन्छन् । तर सुदुरकी बेहुली खप्तड भने बाह्ै महिना बेहुला लिन आउँदैछन भनी तयारी र पर्खाईमा छिन् । हिउँदको समयमा धपक्क सेताम्मे हिउँले छोपिएकी हुन्छिन वर्षातको समयमा हरियाली तथा पाटनभरी रंगी विरंगी फुलले सजि सजाउट अवस्थामा हुन्छिन त्यसैगरी धुपको समयमा वरिपरिको जंगलले पालुवाका मुनाले छोप्दा फुलबुट्टे साडी चोलोको पहिरनले चम्कीलो मुहारमा कसैको पर्खाईमा देखिन्छिन् । हो त्यही बेहुली हो खप्तड राष्ट्रिय निकुञ्ज । जो दुलाहा बनेर बेहुली लिन आउने पर्यटकहरुको पर्खाईमा छ । जो बाह्ैमासे (महिला) सुदुरकी बेहुलीलाई जो कोहीले पनि सहज रुपमा हेर्न सकोस, दुलहीको घरसम्म सहज रुपमा पुग्न सकोस, दुलहीको माईतीघरमा गाँस बाँस र कपासको राम्रो व्यवस्थापन भई त्यही अनुरुप विकासको पखाईमा छ । त्यो हो खप्तड ।
एकै ठाउँमा २२ पाटनको फाँट भु–स्वर्गको टुक्रा त्रिवेणी दह, स्वामी खप्तड बाबाको आश्रम स्थल, खप्तड दह, नाग दुंगा दुंगेधारा रहेको पर्यटकीय एवं धार्मिक स्थल प्रदेश नम्बर ७ मा पर्ने एक मात्र सुदुरकी बारैमासेई बेहुलीको उपमाले चिनिने ठाउँ हो खप्तड । खप्तड राष्ट्रिय निकुन्ज डोटी, अछाम, बाजुरा र बझाङको सिमानामा पर्दछ । रहर लाग्दा जमिनका फाँट पाटनहरु, मनमोहक दह वरिपरि फुलेका अनेकथरी फूल, राष्ट्रिय चरो डाँफेका बथान नाचिरहेका पाटनहरू । मुनाल, कालिज, ढुकुर, परेवा, हलेसोलगायत चराचुरुंगीको चिरविर आवाज । कस्तुरी, मृग, बाघ, भालु, घोरल, थार, बँदेल, बाँदर, हरियो रंगका थरिथरीका छेपारा,फ्याउरोलगायत वन्यजन्तुको ओहोर दोहोर र एक आपसको चिचाहट सतुवा, दालचिनी, सुगन्धवाल, कटुकी, हत्तजडी, पदमचाल, सेलपहाडीजस्ता थुप्रै बहुमूल्य जडिबुटीहरू पाइने यो क्षेत्रको वर्णन शब्दमा जति गरे पनि अधुरो नै हुन जान्छ । पछील्लो केही वर्ष यता जसरी विभिन्न संचार माध्यम र सामाजिक संजालमा खप्तड राष्ट्रिय निकुञ्जको प्रचार प्रशार भईरहेको छ त्यो अनुरुप अझै विकासले गति लिन सकीरहेको छैन् । सप्तडको भ्रमणमा आउने जोकोहीले पनि भन्ने गर्छन् बाटोघाटो र खान बस्नको सुविधा पुर्ण हुन सकेन ।
खप्तडको ३ दिने भ्रमण पुरा गरि केही समय अगाडी फर्किएका डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकनाराण पौड्यालको पनि उही गुनासो रह्यो यातायाता गाँस बास र कपासको । उनले भने– प्रकृतिको बरदान देवभुमी, तपोभुमी खप्तड क्षेत्रको अवलोकन गर्दा मनै फुरुङ भयो । गंगा जमुना र सरस्वतिनदिको संगम स्थल त्रिवेणी धाम केदार दुंगा केदार धारा खप्तड बाबाको आश्रम, खप्तड ताल, खप्तड पाटन, सहर्शलिंग, घोडादाउने पाटन, नागढुंगाको अवलोकन गरियो । प्रकृतिको मनोरम दृश्य उक्तर तर्फ अपी शैपाल, जेठीबहुरानी, कपिल हिमाल अवस्थित हिम श्रृखलाको अवलोकन, पुर्व दक्षिण तर्फ बाजुराको बडीमालिका, अछाम साफेबगर र पश्चिम तर्फ डोटी जिल्लाको भेगमा अवस्थित धर्म विज्ञान र अध्यात्मलाई विज्ञानसंग संयोजन गर्न प्राकृतिक प्रदत्त जडीबुटीको खोजी पहिचान र विकास गर्न र पर्यटकीय हिसावले अदभुत तिर्थस्थलको व्यवस्थापन गर्न देश पछि परेको छ ।
भ्रमण टोलीमा सहभागि राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय डोटीका कार्यालय प्रमखु गोविन्द पाण्डेले पनि त्यही कुरा दोहोर्याए । उनले भने खप्तड भनेको साच्चिकै स्वर्गको टुक्रा रहेछ, जो कोही व्यक्तीले यदी स्वर्गको अवलोकन गर्ने हो भने खप्तड पुग्नुपर्छ । अनी नेपालमा पनि यस्तो प्रकृति प्रदत्तमय ठाँउ रहेछ भनेर थाहा हुन्छ । यस ठाँउको भ्रमण गर्दा यस्तो छ भनेर कसरी बर्णन गर्नु जति वर्णन गरेपनि पुर्ण गरि नसक्नुछ । यस क्षेत्रको विकास तथा प्रचार प्रशारमा सम्बन्धीत निकाएले समयमै ध्यान दिन सके विकास र सम्भावनाको खानि रहेको समेत बताए । यस क्षेत्रको विकास र ब्यवस्थापन गर्न टोलीले निम्न सुझाब दिएका छन् ।
सुझावहरु
डोटी अछाम, बझाङ र बाजुराका प्रवेश मार्गहरु खुल्ला गर्ने ।
खुटीया दुर्तमार्ग संचालनमा तदारुपमा देखाउने ।
शैलेश्वरीको दर्शनलाई भ्रमण र तिर्थयात्राको प्रथम पाईला मान्ने ।
खप्तड भ्रमण गर्न पर्ने स्थानीय कच्ची सडकहरुको ब्यवस्थापन गर्ने ।
छेडापाटन खप्तड बाजुरालाई खप्तडको केन्द्र बनाउने ।
सहस्रलिंग खप्तड दह घोडा दाउनेपाटनमा होटल तथा होमस्टेहरु स्थापना गर्ने । प्रत्येक गन्तब्यस्थललाई न्यूनतम एकरातको बसाई हुन सक्ने गरि पुर्वाधार खडा गर्ने ।
खप्तड क्षेत्रलाई सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य स्थल र संघिय सरकारको प्राथमिकताको क्षेत्रको रुपमा पकेट एरीयाको रुपमा विकास गर्ने ।
नेपाल पर्यटन बोर्ड लगायतका पर्यटन प्रवद्र्धनको जिम्मेवारी रहेका सरकारी तथा गैरसरकारी निकायहरुले यसको प्रवद्धन र विकासका लागि प्राथमीकतामा राख्ने मुलुक भित्र तथा बाहीर समेत प्रचार प्रसार गर्ने ।
मानसरोबर जाने भारतिय पर्यटकहरुलाई खप्तड क्षेत्रको भ्रमण गरेर जान सकिने विषयमा पहल गर्ने ।
खप्तड बाबाको योगदानलाई प्रश्रय गर्दै यस क्षेत्रमा जडीबुटी प्रशोधन तथा उत्पादनका लागि उद्योग स्थापन गर्ने ।
पछिल्लो समयमा खप्तड राष्ट्रिय निकुन्जमा घुम्न आउने पर्यटकको संख्यामा पनि अरु वर्षको भन्दा यो वर्ष बढ्दो संख्यामा देखिएको छ । यो वर्ष मात्र अहिलेसम्म २९ जना विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेका छन भने २ हजार भन्दा बढी आन्तरिक तथा स्वदेशी पर्यटकले अवलोकन गरेका छन्। निकुञ्जमा बाह्य पर्यटक भन्दा बाजुरा, अछाम, डोटी, कैलाली, कंचनपुर र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेका छन् । निकुञ्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति ३९० रुपैयाँका दरले भ्रमण शुल्क तोकिएको र चालू आर्थिक वर्षको सात महिनामा मात्र दुई लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावर समेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका साथै भारतका विभिन्न स्थानबाट समेत पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
खप्तड कसरी पुग्ने
काठमाडौं–धनगढी हवाईजहाज (१ घण्टा ३० मिनेट)
काठमाडौं–नेपालगन्ज हवाईजहाज ।
नेपालगन्ज–अत्तरिया १ सय ५६ किलोमिटर मोटरबाटो (कालोपत्रे सडक)
काठमाडौं–नेपालगन्ज हवाईजहाज ।
अत्तरिया–सिलगढी (डोटी सदरमुकाम) १ सय ७० किलोमिटर मोटरबाटो (कालोपत्रे सडक)
धनगढी–सिलगढी १ सय ९५ किलोमिटर (कालोपत्रे सडक)
सिलगढी–झिंग्राना १५ किलोमिटर (कच्ची सडक)
झिंग्राना–बीचपानी ४ घन्टा उकालो पैदल यात्रा
बीचपानी–खप्तड मेला स्थल त्रिवेणी नदी ३ घन्टा समथर पैदल यात्रा
खान बस्न सुविधा
धनगढीमा डिभोटी, रुवस, साथी, दिनेश, जलसा, फ्लोरा, टेम्पल रिसोर्ट र सुभम् होटलमा वाई–फाई सहित सुविधा सम्पन्न तथा अन्य लजहरू अत्तरियामा पनि उपलब्ध छन् ।
डोटी, दिपायल होटल सिम्रन, होटल टपईन टाउन , मनकामना होटल , होटल रिभर साइड, वर्षा, निर्मल प्यालेस, सिंह गार्डेन ,होटल यात्री प्लाजा, बसन्त प्लाजा र सत्कार होटलमा वाई–फाई सुविधा सहित एसी रुम।
सिलगढीमा होटल डाँफे, ओम गेस्ट हाउस, शैलेश्वरी गेस्ट हाउस, सम्राट गेस्ट हाउस रिमझिम वाई–फाई सुविधा सहितका एट्याच रुम भएका होटलहरू।
झिंग्रानामा स्थानीय गाउँलेद्वारा सञ्चालनमा रहेका खानबस्न मिल्ने होटलहरू।
बीचपानीमा निकुञ्जको टेन्डरमा सञ्चालित एउटा होटल र खप्तड पर्यटन क्षेत्र विकास समितिले निर्माण गरेको आठ ओटा एट्याच रुम सहितको काठै काठले निर्माण गरेको पक्की घर ।
त्रिवेणीमा खप्तड राष्ट्रिय निकुञ्जले निर्माण गरेको ४ ओटा बस्न मिल्ने धर्मशाला ।
खप्तडमा निकुञ्ज कार्यालय, दुई ओटा अतिथि गृह, खप्तड पर्यटन क्षेत्र विकास समितिद्वारा आगन्तुकहरूको बासको लागि निर्माण गरिएको दुई ओटा पक्की घर, ठाउँ–ठाउँमा खाजा–नास्ताका अस्थायी पसलहरू, खप्तड गंगा दशहरा मेलामा सयभन्दा बढी अस्थायी टहरामा होटल तथा पसल सञ्चालनमा रहने गर्दछन् ।
सिलगढीदेखि खप्तड जाने क्रममा बगलेख, झिंग्राना र बीचपानीमा साना लोकल बोकाको मासु, पेय पदार्थ लोकल कुखुराको मासु, रोटी–भात पाइने ।
खप्तड मेलास्थल धार्मिक स्थल भएकाले मासु र पेय पदार्थ नपाइने भएपनि अन्य खानाका प्रकार रोटी, तरकारी, अचार, हलुवा, सुजी, पुरी–तरकारी, चाउमिन, जेरी, सेलरोटी, दूध, दही, मोही, घिउ आदि स्थानीय परिकारहरू ।
स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू चिसो ठाउँ भएकाले चिसो छेक्ने बडी लोसन, भिक्स, पेट काटेको, खोकी र टाउको दुखेको औषधि, हेन्डी प्लास्ट साथमा बोक्न आवश्यक हुन्छ ।
सुदुर पश्चिमको प्रकृति प्रदत्त पर्यटकीय एवं धार्मिक स्थल खप्तड मात्र होईन । यस क्षेत्रमा खप्तड जस्ता सयौ पर्यटकीय, धार्मिक तथा ऐतिहासिक धरोहर पनि रहेका छन् । डोटीको शैलेश्वरी, बडीकेदार, राजदरबार, सेति नदि, बाजुराको बडीमालिका, अछामको रामारोसन, बैजनाथ, बुढीगंगा बैतडीको त्रिपुरा सुन्दरी, बझाङको शैपाल, जेठीबहुरानी हिमाल, दार्चुलाको अपी हिमाल, नाम्पा हिमाल, ओम पर्वत कालापानी, लिपीयाधुरा पहाड, डडेलधुराको उग्रतारा घटाल, कैलालीको घोडाघोडी, कोईलिया ताल कंचनपुरको दोधारा चादनी पुल, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तयाएतका धार्मिक पर्यटकीय तथा ऐतिहासीक राजदरबार, कोट, देवल किल्ला हरु पनि रहेका छन् । यी यस्ता ठाउँ र स्थलहरु प्रदेश नम्बर ७ को लागि उच्च सम्भावनाका खानि मानिन्छन् । यस्ता सम्भावनाहरुलाई अवसरमा परिणत गर्न सक्नु आजको आवश्यकता हो । यस्ता सम्भावनाका सम्भावनाका खानिहरुला केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उच्च प्राथमिकता साथ हेर्न सक्नु पर्छ । स्थानीय तहले पनि आफ्ना क्षेत्रभित्र रहेका पर्यटकीय, धार्मिक, ऐतिहासिक एवं अन्य स्थानीय सम्भाव्यताहरुको खोजी गरी सोही अनुरुपका कार्यक्रमहरु संचालन गर्न सके हामीले चाहेको, खोजेको र हर नेपालीली रोजेको सुन्दर सुदुरपश्चिम साच्चिकै सुन्दर हुने देखिन्छ ।

संकलन तथा लेखन
गणेश मौनी
(सचिव –नेपाल पत्रकार महासंघ डोटी शाखा)