बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि...

वीरेन्द्रनगरः ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’
३० को दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भरेको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतको पहिचान बन्यो। यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुले तालको नाम जनजनका मनमनमा पुगेको थियो।

अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुले तालबारे जानकारी दिने अवस्था पनि थिएन। तर, रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो। एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लय मात्रै पनि सन्देश प्रवाहका लागि कति महत्त्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो। यो गीतले सुर्खेत र बुलबुले ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला। त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुले ताल सुरुको नम्बरमा हुन्छ।

करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुले ताललाई लिएर कैयौँ गीत बने। २०६२ सालमा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो। तर, त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुले उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ।

२०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुले तालको विशेष संरक्षण सुरु गरिएको थियो। सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्य मात्रै नभई चराचुरुङ्गीको बासस्थान पनि हो। अझै पनि मानिसहरू नुहाउन र कपडा धुनका लागि बुलबुले गर्दै जमिन मुनिबाट आउने पानीमै निर्भर छन्।
वीरेन्द्रनगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ। ’बुलबुले ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरूले पनि बुलबुले ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुले ताल पुग्छन्’, उनले भनिन्।
बुलबुले तालमा मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुले तालमा आश्रित भई आम्दानी गर्नेहरूको संख्या पनि बढेको छ। नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने गरेकोमा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ।
‘पहिला बुलबुले ताल परिसरमा जानेहरूसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक १२ लाख आम्दानी भइरहेको छ’, उनले भनिन्, ’त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरू बढेका छन्, यसबाट कैयौँ युवाका लागि रोजगारी पनि सिर्जना भएको छ।’ मोटरबोट सञ्चालनमा आएपछि तस्वीर खिच्नकै लागि १० देखि १५ जना युवा क्यामेरा बोकेर दिनभरी बुलबुले परिसरमै बस्छन्, उनीहरूका ग्राहक बुलबुले आउने पर्यटक बनेका छन्। जसबाट उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्।
नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुले पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ। बुलबुले ताल हेर्न आउनेहरू ऐतिहासिक काक्रेबिहार, लाटीकोइली, देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन्। यहाँका मानिसका लागि पहिले समय बिताउन कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुले उद्यानमा घण्टौँ बिताउन मिल्ने अवस्था बनेको छ।
नगरप्रमुख ढकाल बुलबुले उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउँछिन्। संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाएका थिए। त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुले ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाएका थिए। उनले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गरे। उनीहरूबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्न लागेका थिए। ‘सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन। कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन’, उनले भने, ’केही सीप नलागेपछि म आफैँ पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फु¥यो।’ तालमा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उनको भनाइ छ।
सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रूपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ। यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ। ’शहरनजिकै भएर पनि होला, मानिसका लागि यो रिफ्रेस हुन उपयुक्त गन्तव्य बनेको छ। अहिले हरेक दिन घुम्न, रमाउन, तस्वीर लिन, व्यापार गर्न तथा अध्ययन गर्न आउनेको संख्या बाक्लो हुँदै गएको छ’, ढकालले भने।
अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो । ’ताल सफा गर्न एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ। अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन । हामी सुरुवाती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ’, ढकालले भने।
बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता गरेको छ। तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुईवटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ।
नगरपालिकाले बुलबुले तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो। पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ।
सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुले ताल सफाइ गरी मोटबोट सुरु भएपछि मानिसहरूका लागि गन्तव्य बन्दै गएको बताए। ’सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरूको संख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ। मानिसहरूलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुले तालले पूरा गरेको छ’, उनले भने, ’पहिले ताल सफा नहुँदा निकै कम मानिसहरू मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्। एक प्रकारले भन्दा बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ।’
मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन, बाहिरबाट आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको उनको बुझाइ छ। उनका अनुसार कर्णालीको गेटवे मात्रै नभई प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरूको चहलपहल भइरहन्छ। उनीहरूका लागि बुलबुले तालजस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ।