सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा साथीहरुमा आग्रहः आउनुहोस् सुरु गरौं ‘इलेक्सन युथ क्याम्पियन’

२०७८ फाल्गुन ८, १०:३१

-दल सिंह ठकुरी
धनगढीका एक जना युवा सामाजिक अभियान्तासगँको अनौपचारिक कुराकानीको सन्दर्भमा उनले एउटा वाक्यांश प्रयोग गर्दै भने, ‘अब चुनावमा समाजसेवा गरौं, पाँच वर्ष मज्जाले बसेर खाऔं।’ यति भन्दै गर्दा सँगै बसेका हामी नमज्जाले हाँस्यौं। यद्यपि हाँसो स्थायी भएन। बीचमै रोकेर उनले मुस्कुराउदै फेरि थपे, ‘मैले भन्न खोजेको सही नै हो तर मलाई थाहा छ, तपाईंहरुले गलत बुझ्नुभयो।’

मैले कुनै पार्टीका ठूला नेताहरु्सँग चिया गफ गर्ने मौका त पाएको छैन। तर पछिल्लो समयमा सुदूरपश्चिममा उदाइरहेका थुप्रो ठूलासाना दलका युवा नेताहरुसँग समय बिताउने मौका पाएको छु। गफगाफ गरेको छु। अस्ति मात्र दुई फरक दलका युवा नेताहरुसँगको अनौपचारिक भेटघाटको क्रममा दुवैको समान विषयमा समान धारणा रहेको मैले पाए। उहाँहरु भन्नुहुन्छ, ‘तपाईंहरु युवाहरुको समूह बनाएर आउनुहोस। हाम्रो पार्टीको उम्मेदवारसगँको बाटो हामी सहजीकरण गरिदिन्छु। यसको अर्थ यो होइन कि फलानो मान्छेलाइ सपोर्ट  गर्नुहोस तर हामीलाइ आशा छ। यसपालिको चुनावमा युवाहरुले स्वस्फूर्त रुपमा कुनै न कुनै अभियान लिएर आउनुहुनेछ। जसले सहि प्रतिनिधिको छनोटमा सहयोग पुग्नेछ।’

माथिका दुई उदाहरण समान आशय बोकेका प्रतिनिधि उदाहरण मात्रै हुन्। पर्खिनुहोस फरक विषयवाट अर्थ स्पष्ट पार्छु। अधिकांश सामाजिक अभियान्ता र स्वस्फूर्त युवाहरु जब आफ्ना चिया गफहरुमा राजनीति, नेता र यिनका नियतमाथि बहस गर्न थाल्छन् तब एउटा साझा बोली बोल्दछन्, ‘यिनीहरुलाई चुनावमा देखाउँछु या देखाउनुपर्छ।’ पछिल्लो समयमा कतिपय व्यक्ति यहि शब्दको उग्र प्रयोगले अभियन्तासम्म कहलाएका छन् भने कतिपय अभियन्ताहरुको यहि शब्द दैनिकी पनि बनेको छ भन्दा फरक नपार्ला।   

अब मुल विषयमा प्रवेश गराै। आजकाल मैले विशेषतः आफू र नेपालीहरुको लागि एउटा विशेष शब्दको प्रयोग गर्ने गरेको छु। त्यो हो, ‘स्मार्ट स्ट्रीक सिटीजन’ जसको अर्थ हुन्छ, ‘सडकको अवस्थानुसार समायोजन हुन सक्ने क्षमता भएका नागरिक।’  हाम्रो प्रवृत्ति विगतदेखि यस्तै रहेको मैले पाएको छु। लाग्न सक्छ, यो कुरा त राम्रै हो। हो, यो कुरा राम्रै हाे। यद्यपि हामीलाई यसले प्रत्यक्ष नोक्सान गरिरहेकोछ। हामी यस्ता भइसकेका छौं कि केही समय पछि फरक मुद्दाले सडक ततायौँ भने हाम्रा खास आवश्यक मुद्दाहरूलाई पनि त्यहाँ समायोजन गरिदिन्छौ।

हामी हाम्रा आवश्यक विषय र चासोका मुद्दाहरुलाइ पनि बिर्सिदिन्छौ। यो हाम्रो कमजोरी हो। यसले राष्ट्रिय हितका मुद्दाहरुमा गम्भीर असर पुर्याइरहेको छ।  यति भनिरहँदा यहा मैले विगतका मुद्दाहरुलाइ कोट्ट्याउन खोजेको हैन कि आउने भविष्यप्रति सचेत गराएको हुँ। यो बेला भनेको भोलिको समृद्ध, सुन्दर नेपालको कल्पना मात्रै गर्न होइन, त्यो सुन्दर नेपाल कसरी बनाउने हो भन्नेतिर केन्द्रित हुने पनि हो। अतः सिङ्गो देशको अभिभारा बोकेर हिडिरहेका युवा शाथिहरुमा आह्वान गर्दछुकि, ‘तपाइँको गाउँ, जिल्ला र प्रदेश आगामी निर्वाचनको पाँच  वर्षपछि कस्तो हुने भन्ने कुरा तपाइमा निर्भर छ। अतः अब देश बनाउने कुरा सोच्ने मात्रै हैन, यसै निर्वाचनबाट आउनुहोस सुरु गरौ, ‘इलेक्सन युथ क्याम्पियन’

के हो त ‘इलेक्सन युथ क्याम्पियन’
प्रिय युवा मित्रहरू,
पहिलो कुराः हामी दस वर्षपछिको देश कल्पना गरिरहेका हुन्छांै। दस वर्षपछिको समाज, दश वर्षपछिको परिवार कल्पना गरिरहेका हुन्छाै। हामी दश वर्षपछि मेरो देश, मेरो समाज र मेरो परिवार यस्तो होला या भइदिए हुन्थ्यो भनेर कल्पना गरिरहेका हुन्छौ। कल्पना गर्न बिर्सिदिन्छौकी दस वर्षपछिको कल्पनाको देश बनाउने आज के के गरिनुपर्छ या गर्नुपर्छ।  आजको गाउँ, नगर र प्रदेश कस्तो हुनुपर्छ। हामी यो महत्त्वपूर्ण कर्तव्यबाट विमुख छांै। हामी ५÷१० वर्षको लागि घोषणा पत्र बनाइरहेका हुन्छाै।  हामीसँग आजको घोषणापत्र खै त मित्रहरू ? यो निकै महत्त्वपूर्ण कूरा हो। तपाईं हाम्रो कल्पनाको पाच वर्षपछिको देश बनाउने ‘इलेक्सन युथ क्याम्पियन’ पहिलो र निकै महत्त्वपूर्ण पाइला हो।

दोस्रो कुराः एउटा देश सुशासित र परिवर्तन हुनलाई तपाईं मात्रै सचेत हुनु र तपाइले मात्रै सहि उम्मेदवार चिन्नु पर्याप्त होइन। यसको अर्थ यो होइन कि एक मत एक आवाज कमजोर हो यद्यपि देश बढल्न यो पर्याप्त होइन। यसका लागि म, तपाईंका साथसाथ हजारांै मतदाताहरुको चिन्तन र मानसिकतामा एकसाथ परिबर्तन जरुरी छ। अतः इलेक्सन युथ क्यापीयन मदेखि लिएर हामी सम्मको यात्रा हो। व्यक्ति परिवर्तनदेखि लिएर एकसाथ समाज, देश र सामाजिक परिवर्तनको मुद्दा हो। जब हजारौं मतदाताको चेतनाको स्तरमा एकसाथ परिवर्तन हुन्छ तब मात्रै सपनाको देश बन्न सम्भव छ।

तेस्रो कुराः मित्रहरू नि–सङ्कोच  भन्ने हो भने हिजोका दिनमा शुद्ध नेपाली व्याकरण पढन र लेख्न नजान्ने प्रतिनिधि चुन्ने पनि हामी। आजका दिनमा  थुक्क हाम्रा जनप्रतिनिधि भनेर सामाजिक संजालमा लेख्न पनि हामी। सन्दर्भ यहाँ प्रतिनिधिको शैक्षिक योग्यता, सामान्य सुझबुझको क्षमता, एजेन्डा र भिजनसँग मात्र जोडिएको छैन। मतदाता अर्थात हामी र हाम्रोले दिने निर्णय र क्षमतासँग जोडिएको छ।  अझ महत्त्वपूर्ण कुरा त हाम्रो सपना र देशको भविष्यसँग जोडिएको छ। एक चोटी सोच्नुहोस त ? हामी हाम्रो कस्तो मानसिक र सामाजिक चरित्रलाई हुर्काइरहेका छाै। हामीले गरेका प्रत्येक निर्णयहरुमा निर्णय पश्चात् परिपक्वता र दुरदर्शिता खोजिरहेका हुन्छौ। यद्यपि यसका लागि हाम्रो मानसिक र सामाजिक व्यक्तित्व तयार छ त ?  यो हिजोको प्रश्न थियो। आजको मुख्य प्रश्न हो। अब कुरा रहयो, भोलिको पनि प्रश्न बन्न दिने हो त ? यसको  समाधान हामीमा निर्भर छ। आजका दिनमा  हामी लिने निर्णय र चाल्ने पाइलाहरुमा निर्भर छ। यसको उत्तर स्वरुपको एउटा महत्त्वपूर्ण पाइला ‘इलेक्सन युथ क्याम्पियन’ हुन सक्छ। जो जरुरत पनि छ।

यति कुराहरु उल्लेख गरिरहदा तपाईंको मनमा एउटा प्रश्न उब्जेको हुनुपर्छ, ‘सम्भव कसरी त ?’ मित्रहरू, 
पहिलोः दुनियाँमा असम्भव भन्ने चीज केही छैनन् र हुँदैनन् पनि। यसको व्याख्या यहाँ गरिरहनु पर्दैन होला। हाम्रो अगि थुप्रै जिवित प्रमाणहरु छन्।

दोस्रोः संसार धेरै अघि बढीसकेकोछ। उनीहरुको तुलनामा हामी अझै धेरै पछि छौं। यहाँ एउटा उदाहरण प्रस्तुत गर्न सान्दर्भिक होला। अमेरिकी राष्ट्रपतिय चुनावको इतिहासमा सन् १९६० मा पहिलो पटक मिडिया अर्थात टेलिभिजनको प्रयोग गरियो। जसको प्रयोगले निर्वाचन परिमाणमा व्यापक उथलपुथल ल्याइदियो। त्यसबखत दुईजना राष्ट्रपति पदका प्रत्यासी उम्मेदवार रिचार्ड निक्सोल र जोन एफ केनडीबीच त्यहाँको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण सहितको ‘सार्वजनिक  बहस कार्यक्रम’ गरिएको थियो। मतदाताको अघि उम्मेदवारको प्रस्तुतिकरण नै राष्ट्रपतिय निर्वाचनको निर्णायक अभिमत बन्यो। त्यसैको फलस्वरूप उक्त निर्वाचनबाट डेमोक्रेसी उम्मेदवार जोन एफ केनडी राष्ट्रपति पदमा निर्वाचित भए। त्यसपश्चात निरन्तर रूपमा अमेरिकी राष्ट्रपतिय निर्वाचनमा शृङ्खलाबद्ध रुपमा ‘सार्वजनिक बहसका कार्यक्रम’ गरिँदै आएका छन्। अपवाद बाहेक सार्वजनिक बहस कार्यक्रम सर्वेक्षणको नतिजा नै आजसम्मको इतिहासमा राष्ट्रपति पदको लागि निर्णायक मत बन्दै आएको छ।’

आजभन्दा आधा शताब्दी अघि प्रयोगमा आएका कतिपय निर्वाचन अभ्यासहरु आजसम्म हामीले प्रयोगमा ल्याउन सकेका छैनौं। प्रस्तुत अभ्यास उम्मेदवारहरुको चरित्र र क्षमता सार्वजनिक गर्न सर्वश्रेष्ठ अभ्यास हो जस्तो लाग्छ। यस्ता अभ्यासहरु हाम्रो निर्वाचन प्रणालीमा व्यापक रूपमा प्रयोग गर्न सक्छौ। जसको नेतृत्व युवावर्गले गर्न सक्दछन्। आफ्नो कार्यक्षमतामाथि आफै शंका नगरौ। आत्मविश्वास गरौं। विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर ‘इलेक्सन युथ क्याम्पियन’ यसै स्थानीय तहको निर्वाचनबाट सुुरु गराै। हिजोका दिनहरूमा हामीले सरकार कमजोर भयो भनेर सामाजिक अभियानहरु चलायांै। केही हदसम्म हामी सफल पनि भयौ। अब भने त्यहीँ सरकार बलियो बनाउनका लागि अभियानहरु चलाऔ। जो अवसर संविधानले हामीलाई दिएको छ।

लोकतन्त्रमा जनता जनार्दन हुन्। निर्वाचन लोकतान्त्रिक प्रणाली मात्रै हैन। जनताले आफ्नो अभिमत प्रकट गर्न माध्यम पनि हो। कसलाई सिंहदरबारमा सिंह बनाएर पठाउने र कसलाई स्यालको हैसियतमा सडकमा राख्ने त्यो हैसियत जनतामा निहित हुन्छ। ८० प्रतिशत भन्दा बढी साक्षरता भएको मुलुकमा अझैसम्म विरासतका आधारमा उम्मेदवार तोकिने र निर्वाचित हुने परम्परा हटेको छैन। यो दुःखद मात्रै होइन सरासर सचेत मतदाताको चेतनाको स्तर र सामर्थ्य माथिको प्रश्नचिह्न पनि हो। ठुला दल, ठूलो दलको उम्मेदवार, साना दल, सानो दलको उम्मेदवार अर्थात पार्टीको राष्ट्रिय स्थिति हेरेर उम्मेदवारको स्तर मापन हुने प्रवृत्ति हामीकहाँ छ।

जो हटाउनका लागि पनि ‘इलेक्सन क्याम्पियन’ को औचित्य अझ सान्दर्भिक बन्दै गएको हो। निर्वाचनवाट देशलाई सहि मार्गमा प्रवेश गराउन सहयोग गर्न मेरो पूर्णतः संकल्पसहित पुनः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवा साथीहरुमा आग्रह गर्दछु, हामीले दिनहुँ देख्ने सपनाहरूलाई साँची राखेर आउनुहोस् प्रेमपूर्वक प्रणय गरौं, ‘अब हामी संकल्पित सपनाहरू मात्रै देख्छौ। जुन यात्रा यसै निर्वाचनबाट सुरु गर्नेछौं। जसका निम्ति हामी स्वयंः पनि संङकलित हुनेछौं।’


 

कमेन्ट लोड गर्नुस