बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौँ : बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ। अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहानका लागि बैठक बोलाइएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार छैनन्। बिहीबार अपरान्ह बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए।
फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनैपर्ने भएकाले संसद्मा पेस गरेर छलफल गर्नुपर्ने उनको अडान छ। प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए। सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका नेताहरूले छलफल गरेका थिए।
यस्तै, शुक्रबार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ। संसद्को सम्भावित कार्यसूचीमा आदिवासी जनजाती आयोगकको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ।