कञ्चनपुरको पुनर्वासमा कृषकलाई नि:शुल्क घाँसको बिउ वितरण
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुग्ध उत्पादन बढाउन एक सहकारीले कृषकहरुलाई निशुल्क घाँसको बिउ वितरण गरेको छ। बुधबार पुनर्वास नगरपालिका-८, पृथ्वीबस्तीस्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले सहकारीमा आवद्ध दुग्ध कृषकहरुलाई निशुल्क घाँसको बिउ वितरण गरेको हो।
१ देखि ५ लिटरसम्म दूध ल्याउने कृषकलाई २ केजी र सो भन्दा बढी दूध ल्याउने कृषकलाई ४ केजी गरी १ सय १० जना दुग्ध कृषकहरुलाई घाँसको बिउ वितरण गरेको संस्थाका व्यवस्थापक पुष्पराज ओझाले जानकारी दिए। कृषकलाई व्यवसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढावा गर्ने, दूधबाटै कृषकहरुलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्य संस्थाको रहेको उनले बताए।
चिस्यान केन्द्रको व्यवस्था भएपश्चात् अहिले संस्थाले बिहान र साँझ गरी दैनिक २ सय लिटर खरिद गर्दै आएको संस्थाका अध्यक्ष चक्रप्रसाद ओझाले बताए। कृषकबाट दैनिक संकलन गरिएको दूध संस्थाले डिडिसी दुग्ध संस्थान अत्तरीयालाई बिक्रि गर्दै आएको छ।