सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्यो धनगढी उपमहानगर

राष्ट्र बैंक नजिकको पुलको छेउमा थुपारिएको फोहोर
राष्ट्र बैंक नजिकको पुलको छेउमा थुपारिएको फोहोर
२०७८ फाल्गुन ३, ०३:३७ विन्दु चन्द

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित राष्ट्र बैंक नजिकको पुलको छेउमै फोहोर थुपारिएको छ। महिनौंदेखि जम्मा गरिएको फोहोरले वरपर भने दुर्गन्ध फैलिएको छ।

‘धनगढीको मुख्य सडकपछि सबैभन्दा बढी चलनचल्तीको सडक नै यो हो,’ स्थानीय इन्द्र भाटले भने, ‘तर सडकको छेउमा जथाभावी फोहोर फालिएको छ। महिनौंदेखि यो ठाउँलाई नै फोहोर फाल्ने बनाएर दुर्गन्ध फैलाउने काम मात्रै भएको छ।’

त्यहाँ मात्रै होइन उपमहानगरका मुख्य बजार, सडक, मोहनापुल–अत्तरिया ६ लेन सडक तथा प्रत्येक टोलटोलमा फोहोर थुपारिएको छ। धनगढी उपमहानगरपालिका फालिएको फोहोर नउठाउने भएकाले दुर्गन्ध फैलिएको स्थानीय कर्णसिँह धामीले बताए। उनले भने, ‘लामो समयसम्म फोहोरै उठ्दैन्। कुहीएर नराम्रो गन्ध आउने गरेको छ।’

उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर पनि बिच बस्तीमा थुपार्ने गरेकाले स्थानीयलाई झनै हैरान बनाएको हो। उपमहानगरवासीले जथाभावी फोहोर फाल्ने र उपमहानगरले व्यवस्थापन नगर्ने प्रवृत्तिले धनगढी कुरुप बन्दै गएको अर्का स्थानीय सन्तोष पुरीले बताए। ‘जताततै फोहोर मात्रै थुपारिएको छ,’ उनले भने, ‘कुनै ठाउँमा महिना दिनसम्म पनि फोहोर उठ्दैन। उपमहानगरपालिकाले फोहोर उठाए पनि फेरी बस्तीको बीचमै फाल्ने गरेको छ।’

उपमहानगरमा फोहोर फाल्ने ठाउँ अभाव हुँदा अव्यवस्थित देखिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। उनले भने, ‘अहिलेसम्म धनगढी उपमहानगरपालिकाले कहिले कतै कहिलै कतै ठाउँ खोजेर फोहोर फाल्ने र माटोले पुर्ने गरेको छ।’ 

फोहोर व्यवस्थापनका लागि वडा नम्बर ७ मा ठाउँ हेरिएको र वातावरण प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा रहेको प्रवक्ता मुडभरीले बताए। एशियाली विकास बैंकको ऋण सहयोगमा धनगढीमा कार्यान्वयन भइरहेको क्षेत्रीय सहरी विकास आयोजनाको पहिलो सर्त नै फोहोरोमै व्यवस्थापन केन्द्रको थियो। तर धनगढी उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा फोहोरको वर्गीकरण, प्रशोधनसहितको अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अलपत्र परेको हो।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस