सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १८०१ महिला र बालबालिका हराए, २९८ को अवस्था अज्ञात

२०७८ फाल्गुन १, १०:२७ विन्दु चन्द

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरकी २८ वर्षीया राजु चन्द हराएको एक महिनाभन्दा बढी भयो। उनको खोजीका लागि आफन्तले माइती नेपाल, जिल्ला प्रहरी कार्यालय कैलाली र दृष्टि फाउण्डेशन लगायतमा निवेदन दिएका छन्। तर अहिलेसम्म चन्द अत्तोपत्तो लाग्न सकेको छैन। मानसिक सन्तुलन गुमाएकी चन्द घरबाटै बेपत्ता भएकी थिइन्।  जिल्ला प्रहरी कार्यालयमा उनका बुवा भोजबहादुर चन्द सधै ताकेता गर्छन्। प्रहरीलाई भन्दा–भन्दा थाकिसके। खाेज्छौं भन्छन् तर खोज्दैनन्’ उनले गुनासो गरे।

यो त एक उदाहरण मात्रै हो। अहिले जिल्लामा यसैगरी हराउनेको संख्या बढेको छ। नेपाल–भारत सीमा नाकाबाट अधिकांश महिला तथा बालबालिकाहरु हराउने गरेका छन्। महिला तथा बालबालिका हराएको भन्दै प्रहरीमा निवेदन दिने क्रम पनि बढेको छ। भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले माइती नेपालमा पनि खोजीका लागि निवेदन आउने गरेका छन्। फोन, इमेल, फेसबुक म्यासेज लगायतबाट बेपत्ताको खोजी गरिदिन आग्रह आउने गरेको माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले बताए।‘सीमा नाकामा हाम्रो डेस्क छ, त्यहाँ सबैलाई जाँच गरिन्छ’, उनले भने, ‘धेरैजसो रोजगारीको लहलहैमा लागेर जानेहरु हुन्छन्। केही प्रेम विवाह गरेर सीमा काटेर जानेहरु हुन्छन्। उनीहरुलाई रोकेर चेकजाँच गरी परिवारको जिम्मा लगाउछौँ।’

पछिल्लो ३ वर्षमा कैलाली प्रहरीमा मात्रै १ हजार ८ सय १ महिला तथा बालबालिका हराएको निवेदन आएका छन्। जसमा महिला र बालिकाको संख्या १ हजार २ सय ८९ रहेको छ। उनीहरुमध्ये २ सय ९८ महिला तथा बालबालिका अझै बेपत्ताको सूचीमा छन्। चालु आर्थिक वर्षको ५ महिनामा मात्र ३ सय ३२ महिला तथा बालबालिका हराएको भन्दै निवदेन प्रहरीमा आएको छ। जसमा २ सय ९१ जना महिला र बालिका रहेका छन्। ती मध्ये ३ सय ३२ जनामा अझै ७३ जना बेपत्ताकै सूचिमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए। 

उनले अधिकांश हराउनेमा फेला परिसकेको भएपनि परिवारले प्रहरीलाई जानकारी नगराउँदा बेपत्ताको संख्या नघटेको बताए। ‘बेपत्ता भएपछि खोजीका लागि प्रहरीमा निवेदन आउँछ। परिवारकै सम्पर्कमा आएपनि अधिकांशले फेला परेको जानकारी गराउँदैनन्। त्यसले पनि हराउनेको संख्या बढी देखिन्छ।’  धेरैजसो अन्य जिल्लाबाट आएर यहाँको सीमा नाकाबाट भारत जाने गरेको उनले बताए।

सीमाबाट जानेहरुलाई उनीहरुको स्थानीय तहको सिफारिसका आधारमा भारत पठाउने गरे केही हदसम्म बेपत्ता हुने क्रम नियन्त्रण हुने कैलाली प्रहरीको भनाई छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस