५० प्रतिशत अनुदानमा चैते धानको बीउ उपलब्ध गराउने
पचास प्रतिशत अनुदानमा सुदूरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुरका किसानलाई चैते धानको बीउ उपलब्ध गराउने भएको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक समूह, निजी फार्म र सहकारीमार्फत बीउ उपलब्ध गराउने तयारी गरेको छ। अनुसूचि १, २ र ३ अनुसार स्थानीय तह वा कृषि ज्ञान केन्द्रमार्फत माघ १० गतेभित्र आवेदन दिइ ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए।
“ब्लक तथा पकेटका रुपमा एकै ठाउँमा १० बिघादेखि माथिको क्षेत्रफलमा चैते धानको खेती गर्ने किसानलाई सिँचाइ सुविधाबापत स्यालो ट्युबवेल उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने।
छोटो अवधिमै बढी प्रतिफल दिने चैते धानको खेतीमा कैलालीका कञ्चनपुरका किसानको आकर्षण बढेको छ। बाह्य देशबाट आयात हुने चामललाई प्रतिस्थापन गर्नका लागि यहाँ चैते धानको खेतीले सघाउ पु¥याएको छ। रासस