सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजुको स्तरोन्नतिको निर्णय ‘फर्जी’, नारदमुनिले ५ सय शय्याको आश्वासन भुले

२०७८ माघ २५, ०४:३७ नवराज पनेरु

धनगढी: प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि ०७४ सालमा नेताहरु चुनावी एजेण्डा बनाउन सक्रिय थिए। देशमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले प्रतिनिधि सभाको टिकट पाइन्। 

राणा चुनावी प्रचारमै रहेका बेला सुरुमा धनगढी र त्यसपछि सुदूरपश्चिमभरी नै एउटा चर्चा चल्यो। त्यो चर्चा थियो, ‘३५ वर्षदेखि स्तरोन्नतिको पर्खाइमा रहेको सेती अञ्चल अस्पतालको तीन सय शय्यामा स्तरोन्नति भयो’। आफ्नै पहलमा ५० शय्याको तत्कालिन सेती अञ्चल अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरेको दाबी राणाको थियो। चुनावको १२ दिनअघि ९ मंसिर ०७४ मा नेपाल चिकित्सक संघ सुदूरपश्चिमले सेती अस्पतालमा एउटा कार्यक्रम राख्यो।

कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार सहभागी भए। उक्त कार्यक्रममा राणाले भनेकी थिइन्, ‘मैले व्यक्तिगत पहलमा मन्त्रिपरिषदबाट सेती अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गराउन निर्णय गराएकी छु।’
प्रधानमन्त्री पत्नीले स्तरोन्नतिको निर्णय नै भयो भनेर प्रचार गरेपछि धेरैले मन्त्रिपरिषद्ले निर्णय गरेकै होला भन्ने आशा गरे। राणाले तीन सय शय्याको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा तत्कालिन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले सोही कार्यक्रममा नौलो घोषणा गरे। उनले टेबल ठड्याउदै भनेका थिए, ‘मेरो जित भएपछि पाँच सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउँछु।’

निर्वाचन अवधिभर रानाले सेती अस्पताललाई पाँच सय र राणाले आफ्नै पहलमा तीन सय शय्यामा स्तरोन्नति भएको दाबी गर्दै भोट मागे। २१ मंसिरमा मतदान भयो, त्यसको झण्डै ५ दिनपछि नतिजा आउँदा बाम गठबन्धनका उम्मेदवार नारदमुनि राना विजयी भए। तर आरजुले भनेको तीन सय शय्यामा स्तरोन्नतिको निर्णय भने सेती अस्पतालले पाएन। चुनावको माहोल भएकाले आधिकारिक जानकारी पाउन ढिलाई गरिएको होला भन्ने आशंका अस्पताल प्रशासनको थियो।  तर चुनाव सकिएको चार वर्ष पूरा भएको छ। आरजुले भने जस्तै तीन सय शय्यामा स्तरोन्नतिको भएको निर्णयको प्रतिलिपीसमेत अस्पतालले पाएको छैन। चार वर्षसम्म स्तरोन्नतिको निर्णय नआएपछि आरजुले भनेको निर्णय नै फर्जी भएको चर्चा चल्न थालेको छ। 

झण्डै चार वर्ष सरकारमा रहेको पार्टी एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनि भने ५ सय शय्यामा स्तरोन्नति गराउने आश्वासन बिर्सेका छन्। चुनाव सकिएको एक वर्षसम्म भने उनलाई ती आश्वासन सम्झनामै थिए। ‘सेती अस्पताललाई स्तरोन्नति गरिसकेको छु्, कार्यान्वयनको चरणमा छ,’ ०७५ फागुनमा दिनेशबखरसंग कुराकानी गर्दै रानाले भनेका थिए। तर उक्त स्तरोन्नतिबारे अस्पताल प्रशासन अनभिज्ञ थियो। ०७५ अन्त्यतिर स्वास्थ्य विभागले डडेल्धुरा अस्पतालबाहेक सुदूरपश्चिमका सबै अस्पताललाई प्रदेश सरकार मातहत राख्ने निर्णय गर्‍यो। प्रदेश सरकार मातहत अस्पताल आएपछि प्रतिनिधिसभा सदस्य राना स्तरोन्नतिको एजेण्डाबाट पन्छिन थाले। ‘मैले अस्पतालको स्तरोन्नतिका लागि पहल गरेको हुँ,’ कार्यकालको उत्तरार्धमा राना भन्छन्, ‘तर प्रदेश सरकार मातहतमा सञ्चालन भएपछि समस्या भएको हो।’

प्रदेश सरकारको मातहतमा आएपछि नाम फेरिएर प्रादेशिक अस्पताल भयो। तर स्तरोन्नतिको मुद्दा भने ओझेलमा पर्दै गयो। १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो। अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘नेपाल सरकारले ५० शय्या मात्र सञ्चालनका लागि स्वीकृति दिएको छ,’ उनले भने, ‘०६१ सालमा विकास समितिमार्फत थप ७५ शय्या सञ्चालनको निर्णय भएको थियो। उक्त निर्णयअनुसार एक सय २५ शय्या सञ्चालनको अनुमति छ।’

बिरामीको चाप बढ्दै गएको अवस्थामा शय्या अभावले समस्या बढ्दै गएको श्रेष्ठले बताए। ‘सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा सेती अस्पताल सञ्चालन हुँदै आएको छ,’ सूचना अधिकारी श्रेष्ठले थपे, ‘तर स्तरोन्नतिको निर्णय नभएकै कारण अस्पतालमा भौतिक संरचना, शय्या, उपकरण र दक्ष जनशक्तिको अभाव हुँदा समस्या बढ्दै गएको छ।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस