चल्नै छोडे सुदूरपश्चिम सरकारका एम्बुलेन्स, मर्मत खर्च धान्नै मुस्किल
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका अधिकांश एम्बुलेन्स प्रयोगविहीन भएका छन्। पहाडी जिल्लामा सञ्चालनका लागि उपयुक्त नमानिएका एम्बुलेन्स प्रदेश सरकारले वितरण गरेपछि अधिकांश थन्किएका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले टाटा एसएफसी–४०७ मोडलको गाडि खरिद गर्दै एम्बुलेन्स बनाएर वितरण गरेको थियो। बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले प्रदेश सरकारले दिएको एम्बुलेन्स दुर्घटनापछि सञ्चालन गर्न नसकेको बताए। ‘एम्बुलेन्स सञ्चालनमा छैन,’ उनले भने, ‘दुर्घटना भएपछि ट्राफिक प्रहरीले राखेको हो। ट्राफिकले एम्बुलेन्स चालकको हेभी लाइसेन्स नभएको भन्दै रोकेको हो। मर्मतमा खर्च पनि धेरै लाग्ने देखिएको छ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयले ०७६ कार्तिक २० गते वितरण गरेका १६ वटा एम्बुलेन्समा भ्रष्टाचार भएको आरोप पनि लागेको थियो। कागजात र प्रमाणअनुसार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गर्दा गरेको सम्झौता पत्रमा पनि एकरुपता देखिएको थिएन। सुदूरपश्चिम सरकारलाई एम्बुलेन्स फिर्ता दिएको जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत प्रकाश ठकुल्लाले बताए। उनले भने, ‘प्रदेश सरकारले दिएको एम्बुलेन्स सञ्चालन गर्न नसकिने भयो। मर्मतमा खर्च धेरै हुन थालेपछि हामीले फिर्ता दिएका छाै।’
प्रदेश सरकारले सुविधा सम्पन्न भनेको एम्बुलेन्समा एउटा बिरामी सुत्ने बेड, बिरामी कुरुवा बस्न बेन्च, अक्सिजन र मोनिटर राखिएको छ। मोनिटरलाई कपडाले बानिएको थियो। अक्सिजन सिलिन्डरलाई फलामले अड्काइएको छ। सामान राख्नका लागि दराज बनाइएको छ। यीबाहेक अन्य सुविधा छैन। प्रदेश सरकारले ट्रकलाई एम्बुलेन्स बनाएकाले पटकपटक बिग्रिने समस्या रहेको छ।
डोटी, बाजुरा र अछामबाट तीन एम्बुलेन्स फिर्ता आएका प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए। ‘मर्मतमा खर्च धेरै लाग्न थालेको भन्दै उहाँहरुले फिर्ता गर्नु भएको हो,’ उनले भने, ‘हामीले गौरीफन्टा र गड्डाचौकी सीमामा खटाएका छौं। नयाँ एम्बुलेन दिन तीन जिल्लाका स्वास्थ्य संस्थाहरुले सुदूरपश्चिम सरकारलाई माग गरेका छन्।’
तर चालू आर्थिक वर्षमा प्रदेश सरकारसँग एम्बुलेन्स खरिदका लागि बजेट छैन। ‘उहाँहरुले ‘ग’ वर्गको एम्बुलेन्स माग्नु भएको छ,’ मन्त्री खड्काले दिनेशखबरसँग भने, ‘तर हामीसँग बजेट छैन। हामी कोरोनामा केन्द्रीत छांै। कोरोनाका लागि विनियोजन भएको बजेट बचेमा खरिद गर्ने छलफल हुँदैछ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयले २०१९ को मोडल भनेर २०१६ मोडलको गाडी ल्याएर एम्बुलेन्स बनाएको थियो। सामाजिक विकास मन्त्रालयले प्रतिएम्बुलेन्स ३९ लाख ७ हजार रुपैयाँका दरले ६ करोड ३५ लाख २० हजार रुपैयाँमा १६ एम्बुलेन्स खरिद गरेको थियो।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल, दार्चुलाको हिकिला स्वास्थ्य चौकी र खार स्वास्थ्य चौकी, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको रायल र मटेला स्वास्थ्य चौकीले एम्बुलेन्स पाएका थिए। डडेल्धुराको जोगबुढा अस्पताल, नवदुर्गा स्वास्थ्य चौकी, बाजुराको टाटे स्वास्थ्य चौकी, डोटी जिल्ला अस्पताल, अछामको बाब्ला, कमलबजार, बान्निगढी र अछाम जिल्ला अस्पतालले पनि एम्बुलेन्स पाएका थिए।