सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो शैक्षिक यात्रा

२०७८ माघ २०, ०४:२७

-बिक्रम साउद
पढ्न भनेपछि सबैलाई गाह्रो लाग्ने सोभाविकै देखिन्छ। हामीले ठुलै समस्या र तनावका रुपमा पढाइलाई लिने गर्दछौं। तर हरेक मान्छे समय र परिस्थितिसँगै परिवर्तन हुँदै जान्छ र पढाइको महत्त्वलाई पनि बुझ्ने गर्दछ। 
जीवनमा अगाडि बढेर सफलता प्राप्त गर्नका लागि आवश्यक छ शिक्षा। शिक्षाबाट हामीमा आत्मविश्वासको विकास हुनुको ससाथै हाम्रो व्यक्तित्वको निर्माणको लागि शिक्षा हाम्रो जीवनको अभिन्न अंगका रुपमा लिने गरिन्छ। सम्पूर्ण शिक्षण प्रणालीको दौरान प्राप्त गरिएको ज्ञानले हामी सबै तथा प्रत्येक व्यक्तिलाई आफ्नो जीवनप्रति आत्मनिर्भर बनाउनुको निम्ति कार्य गरिरहेको हुन्छ।

शिक्षाले हाम्रो जीवनको लागि अपार संभावनाहरुको ढोका खोलिरहेको हुन्छ। जसबाट असल करियरको विकासको सृजना हुन्छ। तरपनि म आफ्नो भविष्यकोे बारेमा चिन्तामा हुने गर्थे। के मा इस्ट्याबिलिस हुने ? भन्ने कुरा थियो।
अनेक कुराहरु मनमा खेल्थे। धेरैको सुझाबहरु पनि सुनियो कसैले आइटीको मान्छे यसैमा इस्ट्याविलिस हुने बताए। कसैले सरकारी जागिरको लागि सल्लाह दिए। सल्लाहसँगै सुझाव पनि दिए। हुन पनि हो अरु परीक्षाको जस्तो पास मात्र गरेर नपुग्ने प्रतिस्पर्धामा अग्रस्थानमा आउनुपर्ने। त्यसैले म धेरै डराए। आफूले त्यति मेहनत गर्न सकिन्छ कि सकिन्न भनेर मेरो विगत हेर्दा त्यस्तो खासै बलियो थिएन। 

२०६८ सालमा मैले गाँउको विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको थिए। जुन प्राप्ताङ्कका आधारमा हेर्दा ठिकै देखिन्थे। (द्वितीय श्रेणी) प्रथम श्रेणीको नजिक। तर त्यसमा मेरो मेहनतको कति थियो मलाई नै थाहा छैन।
त्यसपश्चात म तराईमा उच्च शिक्षाका लागि झरेको थिए। र, मेरो असली अध्ययनको यात्रा सुरु भयो। जसमा मैले कम्प्युटर कमर्स म्यानेजमेन्टको विद्यामा अध्ययनका लागि भर्ना भए। मैले विद्यालय शिक्षा पूर्णरुपमा नेपाली माध्यममा पढेको थिए। तर म भर्ना भए अंग्रेजी माध्यममा। त्यसपछिको पहिलो ३ महिनामा मेरो जीवनको सबैभन्दा गाह्र्रो समयका रुपमा रह्यो।

अंग्रेजी बुझ्दै नबुझने र लेख्न पनि नसक्ने भएपछि धेरै नै गाह्रो लाग्थ्यो। कहिलेकाही त सकिन्न छोडदिउँ जस्तो पनि लाग्थो। त्यहि पनि मेहनत भने गर्न छोडेको थिएन।  पहिलो त्रैमासिक परीक्षामा एउटा विषयमा ५० पुर्णाङ्कमा ३ नम्बरमात्र ल्याउन सके। भनिन्छ नि ‘मानिसलाई असफलताले सफलताको ढोकातिर धकेल्छ।’ यदि आफ्नो असफलतालाई सकारात्मक रुपमा लिनसक्नुभयो भने त्यसको परिणाम सकारात्मक नै आउनेछ। मैले पनि उक्त असफलतालाई सकारात्मक रुपमा लिए र धेरै नै मेहेनत गरे सबैभन्दा बढी कमजोर छु भन्ने विषयमा बढी जोड दिनेगर्थे र अन्तिम नतिजामा राम्रै भयो। 

तर उच्च शिक्षाको दोस्रो वर्षको अन्तिम नतिजामा एउटा विषयमा असफल भए र दोस्रो पटक परिक्षा दिइ सफल भए। तर स्नातकतहमा सबै भन्दा कम प्राप्ताङ्क आएको विषय कम्प्युटर विज्ञान थियो।  तर स्नातक तहमा कम्प्युटर विषय बीएड आइसीटी नै लिएर पढ्ने निर्णयगरी काठमाडौं आइपुगे।  पढ्ने बानीको अलि त विकास भएको थियो। समस्या जुन विषयमा कमजोर थिए उही विषयमा पढ्न अग्रसर थिए। त्यसैले कहिलेकाहीँ त सकिने हो की होइन् भन्ने चिन्ता पनि लाग्ने गथ्र्यो। 

त्यहि पनि सकेजतिको मेहनत गरेर जीवनमा पहिलो पटक प्रथम श्रेणीमा पास हुन सफल भए। आफ्नो मेहनतलाई निरन्तरता दिँदै गएर दोस्रो वर्षमा पनि प्रथम श्रेणीमा पास हुन पुगे र तेस्रो वर्षमा भने लोकसेवा पढ्नपर्छ भन्ने मानसिक रुपमा तयार भए। कलेजको पढाईमा भन्दा बढी लगाव लोकसेवामा लाग्यो।  लोकसेवा कम्प्युटर अपरेटरको राम्रो तयारी गरे तर अनुभवको कमी र भाग्यको साथ भने पाइएन उक्त वर्ष लोकसेवाले ४ पटक सम्म परीक्षाको समय तालिका परिवर्तन गर्यो।  परीक्षाको समयतालिका परिवर्तन भएदेखि तयारीमा अलि गति दिन सकिएन र लगत्तै स्नातक तेस्रो वर्षको परिक्षाको परिक्षासमय तालिका पनि प्रकाशन भयो।

मसँग जम्मा तयारीको लागि १ महिनाको मात्र समय थियो। १५ दिन आफैले कोठामा बसेर अलि हेरे र न्युमेरीकल पनि भएकोले आफै बुझ्न अलि गार्हो थियो।  मसँग भएको १५ दिनको तयारी साथिहरुसँग बसेर छलफल गर्दै पढ्ने निर्णय गरियो। त्यो पढाइले अतिनै सकारात्मक र सहज बनायो। उक्त परिक्षामा मेरो जीवनकै राम्रो प्राप्ताङ्क (झन्डै डिस्टिङ्सन) ल्याएर पास भए।  स्नातकमा राम्रै प्रतिशत ल्याएर पास भए र स्नाकोत्तरका लागि केन्द्रीय विभाग आईसीटी टीयूमा भर्ना भए।  स्नाकोत्तर तहको जस्तो सहज भने पक्कै थिएन। हामीमा परिपक्वता नभएर पनि होला सुरुसुरुमा भने अलि असहज लाग्ने गथ्र्यो। 

बिस्तारै सबै बुझ्दै गएपछि सामान्य लाग्न थाल्यो। स्नाकोत्तर पनि सहज रुपमै पास गर्न सफल भइयो। हामीले पढाइलाई प्रेसरका रुपमा लिएर मानिसिक रुपमा हामी कमजोर हुन्छौँ। पढेको कुरालाई पनि स्मरण गर्न सक्दैनौँ।
धेरै पढ्दैमा धेरै जानीन्छ भन्नु भरम मात्र हो। यसको अर्थ पढ्दै नपढ्नु पनि होइन। पढाइलाई सकारात्मक मानसिक रुपमा बलीयो भएर थोरै पढ्ने बानीको विकास गर्ने हो भने त्यसले पक्कै पनि प्रेसरमा पढेको भन्दा सकारात्मक परिणाम दिनेछ।

हाम्रो बानी बुझ्ने भन्दा पनि घोक्ने भएकोले पनि हामीलाई समस्या हुने गर्दछ। विषयवस्तुले भन्न खोजेको कुरालाई बुझ्न खोज्नु भन्दा पनि हामी घोक्नेमा बढी समय दिने गर्छौँ। जसको परिणाम केही समयका लागि त सकारात्मक हुन्छ। तर त्यो सिकाइ दिगो भने पक्कै हुँदैन। त्यसैले धेरै पढ्ने भन्दा पनि पढेको कुरालाई बुझ्ने र पढ्नेशैली वा तरिकामा सुधार गर्न जरुरी छ भने यो आवश्यकता पनि हो। 

(साउद बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ निवासी हुन्। उनी हाल अमृत क्याम्पसमा कार्यरत रहेका छन्।)


 

कमेन्ट लोड गर्नुस