धनगढीमा निर्माणाधिन सहरी सडकबाट बिजुलीका पोल सार्न अन्योल
धनगढीः धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकबाट पोल सार्ने काम अझै सुरु भएको छैन। सडक विस्तारका क्रममा बीच सडकमा पोल परेपछि आवागमनमा सास्ती हुन थालेको छ।
सडक निर्माणका क्रममा विद्युत सेवा पटकपटक प्रभावित पनि भइरहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख तथा इन्जिनियर रोशनकुमार ठाकुरले बताए। उनले भने, ‘सडक विस्तारको क्रममा विद्युतका संरचना बीच सडकमा पर्दा सवारीसाधन ठोक्किने डर हुन्छ। विद्युत सेवा पनि पटकपटक अवरुद्ध हुने गरेको छ।’
अहिले संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले क्षेत्रीय सहरी विकासअन्तर्गत धनगढीमा ७ सडक निमार्ण गरिरहेको छ। सडक निर्माणको ठेक्का पाएको कालिका कन्सट्रक्सनले नै पोल पनि स्थानान्तरण गर्नुपर्ने हो। तर सडकमा भएका पोल र सडक निर्माणका लागि तयार पारिएको डिजाइनमा भएका पोल फरक भएपछि स्थानान्तरणमा समस्या भइरहेको निर्माण कम्पनीको तर्क छ।
‘डिजाइनमा ९ मिटर उचाइ भएको पोल राख्ने भनिएको छ,’ कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले भने, ‘तर बजार क्षेत्रमा ११ मिटर उचाइ भएका पोल छन्। स्थानान्तरणमा समस्या भइरहेको छ।’ धनगढी उपमहानगरपालिकाले बजारमा ९ मिटर उचाइको पोल राख्दा सानो हुने वा सर्वसाधारणलाई समस्या हुने भनेपछि ढिलाई भइरहेको उनले बताए।
७ सडकको निर्माण अवधि सकिन ६ महिना मात्रै बाँकी रहेको अवस्थामा बिजुलीको पोल सार्ने काम नै सुरु नभएको हो। सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत सकिएको छ भने १६ प्रतिशत रकम भुक्तानि गरिएको छ। तर पोल स्थानान्तरण कहिले गर्नेबारे टुगोँ नलागेको क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनीयर द्रोण कटुवालले बताए।
उनले भने, ‘पोल स्थानान्तरण पनि सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीबाटै हुने हो। यसलाई कसरी स्थानान्तरण गर्ने भनेर टुगोँ लागेको छैन। उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरेर काम अगाडि बढ्छ।’