कैलालीमा लागूऔषध दुर्व्यसनीको समस्या विकराल, कारागार र थुनुवा कक्ष भरिए
धनगढीः कैलाली जिल्ला कारागारमा रहेका ५२० कैदीबन्दीमध्ये ८ महिलासहित ९६ जना लागूऔषध मुद्दा खेपिरहेका छन्। चोरी र कर्तव्य ज्यानमा पुर्पक्षका लागि थुनामा रहेका र दोषी ठहर भएर कैद कटाइरहेकाको संख्या १५५ छ। चोरी र कर्तव्य ज्यानका आरोपित र दोषी पनि अधिकांश लागूऔषध प्रयोकर्ता नै रहेका छन्। उनीहरुको मुद्दा मात्रै फरक शिर्षकमा दर्ता भएको छ। कारागारमा अरुभन्दा लागुऔषध मुद्दाका कैदी बढी रहेको जिल्ला कारागार कैलालीका सहायक जेलर टेकबहादुर किमाडीले बताए।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा अहिले ५३ जना लागूऔषध कारोबारी तथा प्रयोगकर्ताहरु छन्। जिल्ला प्रहरी कार्यालयमा ११२ जना थुनुवा संख्या रहेकोमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनीका ५३ जना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। पक्राउ पर्नेमा लगभग ५० प्रतिशत लागूऔषध दुर्व्यसनी गर्नेहरु रहेको उनको भनाइ छ। जिल्लाका अन्य प्रहरी युनिटका थुनुवा कक्षमा पनि लागूऔषध प्रयोकर्ताकै संख्या बढी नै छ। यसले कैलालीमा लागूऔषध दुर्व्यसनीको समस्या विकराल बनेको पुष्टि हुन्छ।
पछिल्लो समयमा प्रहरीमा लागूऔषधका मुद्दा दर्ता हुने क्रम ह्वात्तै बढेको छ। लागूऔषध बिक्रेता र प्रयोगकर्ता बढेपछि नियन्त्रण गर्न चुनौती समेत थपिएको छ। खुला सीमानाका कारण सहजै कारोबार हुन थालेपछि नियन्त्रणमा प्रहरीका प्रयास असफल हुन थालेका छन्। प्रयोगकर्ता पक्राउ पर्ने तर कारोबारीले सहजै उन्मुक्ति पाउने समस्याका कारण पनि लागूऔषधको जालो भत्काउन मुस्किल हुन थालेको छ।
लागूऔषध प्रयोग गर्नेमा विशेषगरी ब्राउन सुगर, ट्याब्लेट, सुई लगायत प्रयोगकर्ता रहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनले भने, ‘यसमा बढीजसो १७ वर्षदेखि २५ वर्ष उमेर समूहका युवाहरु संलग्न रहेका छन्। लागूऔषधले विकराल रुप लिएको छ। लागुऔषध दुर्व्यसनीलाई प्राथमिकतामा राखेर नियन्त्रणका लागि हामी प्रयास गरिरहेका छौँ।’