बैतडीमा टेलिकमको टावरमै खेल्छन् केटाकेटी, सञ्चार सेवा अवरुद्ध
बैतडीः बैतडीको नेपाल टेलिकमको एक टावरको दुर्दशा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जिल्लाको पुर्चौडी नगरपालिका-५ स्थित दहताल डाँडामा रहेको नेपाल टेलिकमको टावर र सोलार प्यानलमै बालबालिकाहरुले खेल्ने गरेको भेटिएपछि सञ्जालमा भाइरल बनेको हो।
उक्त टेलिकमको टावरमा केटाकेटीहरुले चढेको र सोलार प्यानलमै चिप्लेटी खेलेको तस्वीर समेत सार्वजनिक भएको छ। लापरवाहीका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीयले बताएका छन्। सो क्षेत्रमा माघदेखि टेलिफोन सेवा समेत अवरुद्ध रहेको स्थानीय जगदिश जोशीले बताए। उनले सेवा अवरुद्ध हुदा नागरिकलाइ सास्ती भएको बताए।
यता, नेपाल टेलिकम बैतडीका प्रमुख ब्रिकमराम टमाटाले प्रहरी र स्थानीय सरकारलाइ खबर गरेर खेल्नमा रोक लगाउने बताए। घाम नलागेकाले टेलिफोन सेवा अवरुद्ध रहेको र विद्युत नहुदा सो क्षेत्रमा समस्या रहेको उनले बताए।