सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘वाट्सएप’मा छाएका 'आकाश बर्मा', उनले साँच्चै २५ लाख दिन्छन् त ?

२०७८ माघ १२, ०४:३३ आशिष मल्ल

धनगढी: केहीदिन अगि धनगढीका पदम भट्टलाई सामाजिक सञ्जाल ‘वाट्सएप’मा एउटा मेसेज आयो। ‘बधाई हाम्रो प्यारो लक्की विजेता २०२२ को तपाईको मोबाइल नम्बर ५ देशको इन्टलनेशनल कोभिड–१९ को लम्की ड्र २०२२ मा छनोट हुनुभएको छ। तपाईंले रु २५ लाख जित्नुभएको छ’ मेसेज यस्तो थियो। उक्त मेसेज देखेपछि पदम आश्चार्यचकित भए। उक्त मेसेजमा पुरुस्कार लिन केन्द्रीय कार्यालयका मेनेजर आकाश बर्मालाई सम्पर्क गर्न समेत अनुरोध गरिएको थियो। मेसेजमा फाइल नम्बर भनेर ३ अंकको एउटा नम्बर पनि दिइएको थियो।
०००

धनगढीमै बस्ने तपेन्द्र खतिवडालाई पनि ‘वाट्सएप’मै मेसेज आएको थियो। तर उनलाई भने अर्कै प्रकारको मेसेज आएको थियो। उनलाई भारतीय वाट्सएप कम्पनीको ‘लक्की ड्र’ मा २५ लाखको चिठ्ठा परेको भन्दै मेसेज आएको थियो। उनलाई पनि उक्त रकम लिन कम्पनीका सुपरभाइजर आकाश बर्मालाई सम्पर्क गर्न आग्रह गरिएको थियो। सोही ‘वाट्सएप’ मेसेजमा आकाश बर्माको नम्बर पनि उललब्ध गराइएको थियो। डडेल्धुराका तिर्थराज पनेरुलाई भने यस्तै प्रकारको एउटा ‘भोइस मेसेज’ आएको थियो। उनको ‘वाट्सएप’ नम्बर ५ देशका नम्बर मध्ये ‘लक्की ड्र’मा छनोट भएको र २५ लाख जितेको भनिएको थियो। उनलाई पनि पुरुस्कार लिन कम्पनीका मेनेजर आकाश बर्मालाई फोन गर्न आग्रह गरिएको थियो। उनलाई पनि चिठ्ठा नम्बर भनेर ६ अंकको नम्बर उपलब्ध गराइएको थियो।
०००

माथिका यी तिन वटै घटनाका मुख्य पात्र आकाश बर्मा रहेछन्। कुनै मेसेजमा उनलाई म्यानेजर भनिएको छ भने, कहिँ उनलाई सुपरभाइजनर भनिएको छ। तर उनी को हुन् ? उक्त कुरा जान्न दिनेश खबरले मेसेजमा दिइएको नम्बरमा सम्पर्क गर्यो। फोन उठ्यो। उताबाट आफूलाई आकाश भन्ने व्यक्तिले मेसेजमा दिइएको चिठ्ठा नम्बर मागे। उक्त नम्बर उपलब्ध गराएपछि उनले करबापत ५ हजार जम्मा गर्न आग्रह गरे। जितेको २५ लाख पाउन सुरुमा उक्त ५ हजार जम्मा गर्न उनले भनिरहेका थिए। यो सरासर ठगी हो भन्दै हामीले फोन डिस्कनेक्ट गर्यौं। यसैगरी ठगीएका विभिन्न उदाहरण छन्। दिनेशखबरले केही समय पहिले ‘‘४० लाख पाउने चक्करमा धनगढीका कृष्णले यसरी गुमाए ७५ हजार’ भन्दै सामाचार समेत लेखेको थियो। 
०००

बुधबार मात्रै जिल्ला प्रहरी कार्यालयले यसै सन्दर्भमा एउटा सूचना जारी गरेको छ। प्रहरीले अनलाइन ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ। ‘विगत लामो समयदेखि केहि व्यक्ति÷अपराधिक समूहले प्रविधिको दुरुपयोग गरी फेसबुक, वाट्सएप, भाइबर, आइएमओ लगायतका विभिन्न सामाजिक सञ्जालहरूमार्फत भिडियो, अडियो तथा मेसेज गरी तपाईलाई यति रकम चिठ्ठा परेको छ र उक्त चिठ्ठापरे बापत कर तिर्नुपर्ने भएकोले बैंक तथा अनलाइनमार्फत रकम जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढीरहेको छ’ कैलाली प्रहरीले जारी गरेको सूचनामा भनिएको छ। प्रहरीले यस्ताखाले भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोग तथा आफू ठगीनबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ। 

प्रहरीका अनुसार यस प्रकारको ठगीधन्दा विगत लामो समयदेखि भारतबाट सञ्चालित छ। केही ठगीएका व्यक्तिहरुले प्रहरी समक्ष आएर निवेदन समेत दिएको कैलाली प्रहरीले जनाएको छ। यस प्रकारको ठगीबाट बच्न गोप्य राख्नुपर्ने विवरणः बैंक खाता नम्बर, पिनकोड, बैंक पासवर्ड, नागरिकता, पासपोर्ट साथै ओटीपी कसैलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस