सुदूर नेपाललाई विश्वसँग जोड्दै

४० लाख पाउने चक्करमा धनगढीका कृष्णले यसरी गुमाए ७५ हजार

२०७७ फाल्गुन २३, ०१:५९ आशिष मल्ल

धनगढी: गएको पुष २५ गते धनगढी उपमहानगरपालिका–मनेहराका कृष्ण चौधरीलाई सामाजिक सञ्जाल ‘वाट्सयाप’मा फोन आयो। आफ्नो नाम आकाश शर्मा बताउने ती व्यक्तिले कृष्णलाई ४० लाख चिठ्ठा परेको सुनाए।

काठमाडौंबाट बोलिरहेको बताउने आकाश भनीएका ती व्यक्तिको बोली सुन्दा भारतीय मुलको जस्तो भएको कृष्ण बताउँछन्। आकाशले चिठ्ठामा परेको ४० लाख पाउन सुरुमा सरकारलाई ‘आरटीजीएस’ तिर्नुपर्ने भन्दै ७५ हजार पठाउन भने। 

त्यहि अनुसार कृष्ण चौधरीले भोला महतोलाई विरगञ्जमा ३५ हजार आइएमइमार्फत पठाए।  त्यसैगरी सेबुल्ला मिया अन्सारीको मेघा बैंकको खाता नम्बरमा ४० हजार नगद जम्मा गरे। 

त्यसपछि पुनः कृष्णलाई वाट्सयापबाटै फोन गरेर थप रकम पठाउन भनियो। तर एसपटक कृष्णलाई त्यो व्यक्तिमाथि शंका उत्पन्न भयो। उनले आफुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा माघ ३ गते निवेदन दिए। 
तर हालसम्म कृष्णले चिठ्ठा परेको भनीएको ४० लाखबाट एक रुपैंया पनि पाएका छैनन्। नत उनले आफुले दिएको ७५ हजार फिर्ता पाए। 

४० लाख पाउने चक्करमा कतैबाट ऋण निकालेर ७५ हजार पठाएको उनी बताउँछन्। ‘मलाई बारम्बार फोन आइरहेको हुँदा विश्वास लागेर ७५ हजार पठाएको थिए। तर उसले मलाई ठगेको रहेछ’ पीडित कृष्ण भन्छन्, ‘मलाई त ठग्योठग्यो अरु कसैलाई यस्तो नहोस्।’

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने उनको निवेदनलाई आधार मानेर घटनाको अनुसन्धान भइरहेको बताएको छ। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस