सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० ओटा कार्यविधि पारित

२०७५ पुष २९, ०५:३२ सीपी लोहीया

बैतडीको सुर्नया गाउँपालिकाले १० ओटा कार्यविधि पारित गरेको छ। गाउँकार्यपालिकाको हिजो बसेको बैठकले विभिन्न दशओटा कार्यविधि पारित गरेको गाउँपालिकाका प्रवक्ता हेमा भट्टले जानकारी दिइन्।
बैठकले घ वर्गका निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि २०७५, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ र मदिरा विक्रिवितरण, व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ पारित गरेको उनले बताइन्। 
यस्तै सुर्नया गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई कार्यविधि २०७५, सुर्नया गाउँपालिकाको स्थानीय कृषि व्यवसाय प्रवद्र्धन कार्यविधि २०७५, सुर्नया गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७५, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धि कार्यविधि २०७५, सुर्नया गाउँपालिकाको न्यायिक समिति कार्यसम्पादन कार्यविधि २०७५ र सहकारी संस्था दर्ता तथा सञ्चालन कार्यविधि २०७५ पारित भएको छ। विभिन्न कार्यविधि पारित भएपछि गाउँपालिकाले सम्पादन गर्ने कार्यमा सजिलो हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। 
केही दिनमै स्थानीय राजपत्रमा कार्यविधि प्रकाशित गरेर लागु गरिने अध्यक्ष बिष्टले बताए। गा गाउँपालिकाले शिक्षा कार्यविधि यस अघि नै पारित गरेर लागु समेत गरिसकेको छ। गाउँपालिकाले वन तथा वातावरण सम्बन्धि कार्यविधि, लक्षित समूह उत्थान कार्यविधि निर्माणको चरणमा रहेको जनाएको छ। 
यस्तै गाउँपालिकाको केन्द्रका लागि विभिन्न मापदण्ड तोक्दै विज्ञ टोली गठन गर्ने निर्णय समेत बैठकले गरेको छ। गाउँपालिकाको केन्द्रका लागि निशुल्क रुपमा उपलब्ध भएको जमीन हुनुपर्ने, सतबाँझ श्रीभावर सडकको नजिक हुनुपर्ने, गाउँपालिकाको मध्यभागमा हुनुपर्ने, भविष्यमा अन्य कार्यालय स्थापानका लागि पनि ठाउँ भएको हुनुपर्ने, पानीको व्यवस्था भएको लगायतका कुराहरु मापदण्डमा उल्लेख गरिएको छ। कार्यपालिकाको आज बसेको बैठकले गाउँपालिकाको केन्द्र नजिकै अस्थायी प्रहरीचौकी स्थापनाका लागि भाडामा घर खोज्ने निर्णय समेत प्रवक्ता भट्टले जानकारी दिइन्। गाउँपालिकाले मदिरा विक्रिवितरण, व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ पारित गरेसंगै अब गाउँपालिकामा साँझ ५ बजेदेखि राती १० बजे सम्म मात्रै मदिराको कारोबार गर्न पाइने भएको छ। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस