सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

२०७८ माघ १०, ०६:२० रासस

काठमाडौं : कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्। सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्। सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै त्यसमा लगानी बढाउन शर्माले आग्रह गरेका हुन्।

मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाएका छन्। उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ।’ मन्त्री शर्माले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए।

पछिल्लो समय प्रविधिको युग रहेको बताउँदै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको उल्लेख गरेका छन्। यसमार्फत इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गरेका छन्। त्यस्तै, उनले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा पनि विश्वास व्यक्त गरेका छन् । बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पणसमेत गरेका छन्। बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो। हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको  । 
 

कमेन्ट लोड गर्नुस