सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित सेतीकाे शय्यामा, बाहिर चिसिँदै कुरुवा

२०७८ माघ ८, ०४:२९ विन्दु चन्द

धनगढी: सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमितका कुरुवाको अवस्था दयनीय छ। कोभिड अस्थायी अस्पतालमा भर्ना भएका संक्रमितका कुरुवाका लागि बस्ने ठाउँ नहुँदा उनीहरु चिसो रातमा पाल टाँगेर बसिरहेका छन्। उनीहरु आफैले घरबाट पाल ल्याएर अस्थायी अस्पताल बाहिर बसिरहेका हुन्। एक कुरुवा कालुसिंह नागरी भन्छन्, ‘बिरामी त बिरामी नै छन्। उनीहरु भन्दा झन जोखिम हामीलाई छ। रातभर ननिदाई सुत्नुपर्ने बाध्यता छ। धेरै दुःख र समस्या छ।’

संक्रमितलाई खानाको व्यवस्थापन नभएपछि घरबाटै खानाको जोहो गर्नुपर्दा उनीहरु रातभर कुरुवा बस्ने गरेका छन्। रातमा बिरामीलाई समस्या आएमा उनीहरुको सहजताका लागि कुरुवा बस्नुपरेको उनीहरु बताउँछन्। खाना र पानीको व्यवस्था नहुँदा आफूहरुले रातभर बाहिर चिसोमा बस्नुपरेको गुनासो अर्का कुरुवा रामकुमार चौधरीको छ। खाना दिनकै लागि आफुहरु रातभर चिसोमा कठ्यांग्रिएर बस्नु्पर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘धनगढीमा घाम नलागेको धेरै दिन भयो। राति  शित पर्छ, चिसो हुन्छ। शौचालय पनि छैन। धेरै समस्या भइरहेको छ।’ अस्पतालमा भर्ना भएका धेरै संक्रमित धनगढी बाहिरका छन्। घर टाढा हुँदा उनीहरुलाई खाना ल्याउनै समस्या हुने गरेको निरज खड्काले बताए। ‘यतै बस्नुपर्छ, खानाको व्यवस्था छैन न त पानीको व्यवस्था नै। खाना पानी किनेरै खुवानुपर्ने बाध्यता रहेको छ’, उनले भने।

अहिले सेती प्रादेशिक अस्पतालको आइसीयूमा ४ जना र कोभिड अस्थायी अस्पतालमा ६ जना संक्रमित छन्। गत वर्ष संक्रमितहरुलाई अस्पतालले नै निःशुल्क खाना खुवाउँदै आएको थियो। तर गत वर्षकै खानाको खर्च तिर्न नसकिएको र यो वर्ष बजेट अभावका कारण खानाको जोहो आफैले गर्नुपर्ने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

‘दोस्रो लहरमा संक्रमितलाई खुवाको खानाको खर्च समेत तिर्न सकिएको छैन। बजेट दिने सामाजिक विकास मन्त्रालयले हो। तर अहिले बजेट निकासा गरेको छैन’ उनले भने, ‘बजेट अभाव भएर खाना खुवाउन नसकिएको हो। अब यसबारे समन्वय गरेर खाना खुवाउने व्यवस्थापन गरिन्छ।’


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस